काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् ।


ADVERTISEMENT


११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालमा थुप्रै महिला अधिकार प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता सुनाईन् ।


ADVERTISEMENT

# # #


उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पारिन् । ‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् ।’ उनले भनिन्, ‘त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।

उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ ।

उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । उनले थपिन्, ‘अब आम महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ । त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने महिलाहरु स्वतन्त्र र सवल हुनसक्छन् ।’ सन् २०३० सम्म महिलाहरुलाई समान अधिकारको सुनिश्चित्ता गर्ने कुरा योजना आयोगको १५औं योजनामा समेत राखिसकिएको उनले बताईन् । मन्त्री अर्यालले सरकार महिलाहरुको उत्थानको लागि सकारात्मक कदम चालेको पनि सुनाईन् । अहिलेको समाज र राज्य महिलामत्रै भएको पनि उनको दाबी छ ।

मन्त्री अर्यालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भैसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको बताइन्। उनले भनिन्, ‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पनि काम गर्न नसकेको भनेर प्रश्न उठेको छैन् । बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन् ।’ देशको हरेक क्षेत्रको नेतृत्वमा पुगेका महिलाहरुले उत्तकृष्ट कार्य गरेको उनले बताइन् ।

यस्तै मन्त्री अर्यालले देशको नेतृत्व लिनेगरि महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उनले सुनाईन् । उनले भनिन्, ‘किन नसक्नु ? परिस्थिति बन्दा र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्नसक्ने कुरा स्वभाविक हो ।’ उनले अहिलेसम्म जुन जुन मोर्चा र जिम्मेवारीमा भएपनि महिला अधिकार र महिलाको मुद्दामा सबैबीच एकरुपता र कोहीबीचपनि विमति नरहेको स्पष्ट पारिन् ।