– चिन्तामणी सिवाकोटी : डेपुटी गभर्नर, नेपाल राष्ट्र बैँक

अहिले तपाईं डेपुटी गभर्नरको रुपमा हुनुहुन्छ । राष्ट्र बैँकको जिम्मेवारी वहन गर्दा कस्तो अनुभव भइरहेको छ ? कसरी काम गरिरहनु भएको छ ?


ADVERTISEMENT


 # #


डेपुटी गभर्नर भनेको एउटा गरिमामय पद हो । नेपालमा बैँक तथा वित्तीय संस्थाहरुको सञ्जाल निकै ठूलो छ । उनीहरुका क्रियाकलापहरु, त्यहाँ हुने नीति नियम र कार्य सञ्चालनका कुराहरु, पूरै व्यापार क्षेत्रको हामीले अनुगमन, सुपरिवेक्षण गर्नुपर्ने हुन्छ । त्यो भएकाले यो अत्यन्तै चुनौतिपूर्ण काम छ । अहिले ती चुनौतिहरुलाई सामना गर्न सक्षम हुँदा हामीलाई गर्व महसुस हुन्छ । हामी हाम्रो काममा सन्तुष्ट छौँ ।

क, ख र ग वर्गका बैँक तथा वित्तीय संस्थाहरु २ सय भन्दा बढी थिए । हामीले मर्जरको नीति ल्याएर १७८ लाई मर्जरको प्रक्रियामा समावेश गर्न सकेका छौँ । त्यसमध्ये ४०–४५ संस्थालाई मर्जर गरेर घटाउन सफल भएका छौँ ।

१८५ वटा बैँक वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्तीको प्रक्रियामा राखेर १४० वटा संस्थालाई खारेज गर्दै ४५ संस्था कायम गर्न सफल भएका छौँ । जुन गर्व गर्न लायक सफलता हो । 

यस्तै हामीले तीन चार बर्ष अघि पूँजी वृद्धिको कुरा ल्यायौँ । त्यसमा पनि कमर्सियल बैँकको २ अर्बको पूँजीलाई ८ अर्ब पुर्याउनु पर्ने थियो । सुरुका दिनमा यो लागू हुन सक्दैन, राष्ट्र बैँकले धेरै महत्वकांक्षा लियो भनेर भनियो । तर, हामीले आज त्यो स्तरमा पुर्याएका छौँ ।

यस्ता विविध कुराहरुले गर्दा हाम्रो देशका वित्तीय संस्थाहरु अन्य सार्क देशका वित्तीय संस्थाहरुभन्दा मजबुत भएका छन् । यो अवस्थामा हामीले कुनैपनि बैँक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपरेको छैन ।  यस्तै हामीले वित्तीय साक्षरता अभियान चलाउँदै वित्तीय पहुँचमा छलाङ मारेका छौँ ।

यो तीन वर्षमा हामीले ७४५ वटा स्थानीय तहमा कमर्सियल बैँकका शाखा विस्तार गरेका छौँ । आज २ करोड ९८ लाख बैँक खाता पुगेका छन् । मोबाइल बैँकिङ, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्यामा पनि व्यापक वृद्धि भएको छ । 

२०७२ को महाभूकम्पले राष्ट्र बैँकका तीनवटै भवनहरु तहसनहस भएका थिए । व्यापारको निरन्तरताकै लागि पनि हामीलाई समस्या थियो । तर, हामीले एक दिन पनि त्यसमा अवरोध हुन दिएनौँ । अहिले पनि उत्कृष्ट रुपमा सुचारु गरिरहेका छौँ । भवनहरु निमार्णधीन छन् । हामी हाम्रो इमान्दारितापूर्वक, बफादारितापूर्वक, कर्तव्यनिष्ठ तरिकाले आफ्नो जिम्मेवारी वहन गर्दैछौँ ।

नेपाल राष्ट्र बैँक नयाँ नेतृत्वको संघारमा पनि रहेको छ । त्यसका लागि तपाईंको नाम पनि नयाँ गभर्नरका रुपमा चर्चामा छ । यसबारे के भन्नुहुन्छ ?

त्यो स्वभाविक पनि हो कि म गर्भनरभन्दा तल वरिष्ठ डेपुटी गभर्नरका रुपमा रहेको छु । त्यो भएकाले गर्भनरभन्दा एक स्थान तल रहेको व्यक्ति नै अबको गर्भनर हो भनेर आमजनमानसले बुझ्छन् । तर, त्यसमा उहाँहरुलाई सबै कराको जानकारी हुँदैन । यसका लागि कसरी कतिजना सिफारिस हुन्छन् भन्ने आममानिसले नबुझ्लान् । अर्थमन्त्रीको नेतृत्वको छनोट समितिले ३ जनाको नाम सिफारिस गरिसकेपछि मन्त्रीपरिषद्ले त्यसमध्ये एकलाई छनोट गर्ने हो । भएता पनि ममाथि धेरै मानिसहरुले सम्भावना देख्नुहुन्छ ।

गभर्नर हुनका लागि तपाईं आफ्नो दाबी कसरी पेश गर्नुहुन्छ त ?

त्यो सम्भावना नभएको पनि होइन । त्यसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर चाहिन्छ । नेपाल र अमेरिकाबाट मैँले स्नातकोत्तर गरेको छु । यस्तै मैँले त्रिभुवन विश्वविद्यालयबाट बीएल पनि गरेको छु ।

अनुभवका हिसाबले म ३२ वर्षदेखि राष्ट्र बैँकमा कार्यरत छु । सहायकस्तरदेखि नै आएकाले मैँले सबै खालका अनुभव र राष्ट्रबैँकमा लामो समयसम्म भएका उतारचढावहरुमा म अभ्यस्त छु । विभिन्न संकटको बेला पनि मैँले ‘सुरक्षित अवतरण’ का साथ काम गरेको छु ।

द्वन्द्वका बेला म नेपालगञ्जमा कार्यरत थिएँ । त्यतीबेला नेपालगञ्जबाटै सुदुरपश्चिम र मध्यपश्चिमका १४ जिल्ला हेर्नुपर्थ्यो । जहाँ एकदमै धेरै जोखिम थियो । धम्क्याउने, चन्दा माग्ने, विभिन्न किसिमका डर आउँदा पनि त्यसलाई सहज ढंगले किनारा लगाइयो । राष्ट्र बैँकमा आउनुभन्दा अघि म विद्यार्थी राजनीतिमा थिएँ । त्यसपछि पनि म कर्मचारी युनियनमा रहेँ । यसले पनि मलाई दक्ष बनायो ।

सानैदेखि नेतृत्व गर्ने बानी परेकाले परिस्थितिहरुसँग जुध्न, निराश नहुन र हिम्मत गरेर अगाडि बढ्न सहयोग पुगेको छ ।

यदि गभर्नर हुनुभयो भने राष्ट्र बैँकलाई दिनसक्ने तपाईंका प्राथमिकता, योजना र लक्ष्यहरु के-के छन् ?

सामान्यतः नेपाल राष्ट्र बैँक भनेको नेपाल सरकारको सल्लाहकार, नेपाल सरकारको बैँक तथा वित्तीय एजेन्ट हो । राष्ट्र बैँकले नेपाल सरकारलाई विभिन्न सुझाव सल्लाह दिने गर्छ । मुलुकमा अर्थतन्त्रको विकासका लागि आवश्यक पहलकदमी र नीतिहरुको तर्जुमा गर्दछ । सरकारको आर्थिक लक्ष्यलाई पूरा गर्नका लागि राष्ट्र बैँकले काम गर्छ ।

राष्ट्र बैँकको मूल उद्देश्य भनेको मुलुकमा वित्तीय स्थायित्व कायम गर्ने हो । जुन अत्यन्त चुनौतिपूर्ण रहेको छ । अहिले हामी राष्ट्र बैँकमा विभिन्न किसिमका प्रणाली र व्यवस्था लागू गरिरहेका छौँ । हामीले यिनै कुराहरुलाई निरन्तरता दिने हो ।

यदि सरकारले मलाई विश्वास गरेर गर्भनर बन्ने अवसर प्रदान गर्‍यो भने सबैभन्दा पहिले मैँले पुनर्निर्माण भइरहेका राष्ट्र बैँकका भवनहरु आधुनिक, सुविधासम्पन्न, वैज्ञानिक किसिमको बनाउने योजना पूरा गर्ने हो । त्यस्तै वित्तीय स्थायित्वका लागि हाम्रो निरीक्षण, सुपरिवेक्षण प्रणालीलाई अझ व्यवस्थित र चुस्तदुरुस्त बनाउने हो । यससँग सम्बन्धित अन्तर्राष्ट्रिय मान्यता, प्रचलन र मापदण्डहरु जसरी विकास भइरहेका छन्, तिनलाई कार्यान्वयन गर्ने र वित्तीय पहुँच विस्तार र वित्तीय समावेशिता विस्तारका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रमलाई प्रर्वद्धन गर्नेछौँ ।

अर्को भनेको मर्जरको नीतिलाई थप गति दिएर जतिसक्दो कमर्सियल बैँकको संख्यालाई घटाउने हो । हाम्रो वित्तीय प्रणालीलाई प्रविधिउन्मुख बनाउने गरी विभिन्न किसिमका प्रविधिमार्फत नगदको प्रयोगलाई कम गर्दै प्रविधि मार्फत भुक्तानी प्रणाली विकास गर्ने हो ।

हामी विकास निर्माणको संघारमा छौँ । हामीलाई पूँजी चाहिनेछ । कोरोना भाइरस आदीको कारणले गर्दा रेमिटेन्स कम हुने देखिएको छ । विदेशी सहायता अनुदान प्राप्त गर्न कसरी सम्भव हुन्छ लगायतका विषयमा थप नयाँ ढोकाहरु खोल्नुपर्नेछ । केन्द्रीय बैँकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउँदै आगामी दिनमा केन्द्रीय बैँकलाई संघीय संरचनामा ढाल्नका लागि योजना बनाउनु पर्नेछ । अब प्रत्येक प्रदेशको आर्थिक स्थिति बाहिर ल्याउने गरी हाम्रो प्रणाली व्यवस्थित गर्ने हो ।

अहिले देशको बैँकिङ्ग अवस्था कस्तो छ ? के सुधार आवश्यक छ ?

बैँकिङ्ग अवस्था सन्तोषजनक नै छ । कमर्सियल बैँकहरुको संख्या अलि बढी भएपनि मर्जरको नीतिले त्यसलाई ठीक ठाउँमा ल्याउँछ । पूँजीका हिसाबले बैँकहरु बलियो भएको अवस्था छ । केही विकास बैँकहरु र वित्तीय संस्थाहरु कमजोर रहेका छन् । तिनलाई पनि ‘मर्जर’, ‘इक्वीजिसन’ गरेर व्यवस्थापन गर्नुपर्छ ।

बैकिङ क्षेत्रमा आजको सबैभन्दा ठूलो चुनौति भनेको प्रविधिमा हुने आक्रमण हो । ‘साइबर सेक्युरिटी’को कुरा छ । यस्ता समस्या समाधान गर्नका लागि प्रविधिमा लगानी गर्न, हिजो भएका प्रणालीलाई स्तरोन्नती गर्न हामीले बैँकहरुलाई निर्देशन दिइरहेका छौँ ।  आज हामीले प्रविधिमा लगानी गर्न सकेनौँ भने भोलिका दिनमा बैकिङ्ग क्षेत्र पूर्णरुपमा धराशयी हुने खतरा रहेको छ । प्रविधिमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ ।

दुई तिहाईको शक्तिमा रहेको वर्तमान सकारले विकास र समृद्धिको एजेण्डा अघि सारेको छ । यसलाई पूरा गर्नका लागि राष्ट्र बैँकको भूमिका के हुन्छ ?

यसमा बैकिङ्ग क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । बैकिङ्ग क्षेत्रलाई व्यवस्थापन गर्ने, इजाजत दिने र निर्देशन दिने भनेको राष्ट्र बैँक हो । त्यसकारण राष्ट्र बैँकको भूमिका महत्वपूर्ण हुन्छ ।

विकास र समृद्धिमा सघाउने उद्देश्यले नै राष्ट्र बैँकले सहुलियतपूर्ण कर्जाको नीति अघि बढाएको छ । विपन्न वर्गमा मानिसहरु, धितो राख्ने हैसियत नभएका मानिसहरुलाई पनि हामीले १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने अवस्थामा पुगेका छौँ । त्यो कर्जाको सही सदुपयोगबाट उनीहरुले आफ्नो आम्दानी, रोजगारी बढाउँछन् र त्यसबाट बचत गर्ने बानी बसाल्छन् । जसले उनीहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्छ । उनीहरुले बीमा गर्न सिक्छन् । यस्ता गतिविधिले राष्ट्रको विकासमा सहयोग पुग्छ ।

अर्को, सरकारले बनाएका जति पनि बजेटका कार्यक्रमहरु छन्, तिनलाई कार्यान्वयन गर्नका लागि सरकारले बनाएका जतिपनि बजेटका कार्यक्रमहरु छन्, तिनलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैँकले समृद्धि उन्मुख ‘मोनिटरिङ्ग पोलिसी’ बनाउने हो । मुलुकमा समृद्धिको लागि रोजगारी आवश्यक छ, रोजगारीको आवश्यकता पूरा गर्नका लागि यिनै सहुलियतपूर्ण कर्जाहरुमा हामीले ध्यान पुर्याउने हो ।

चौथो कुरा भनेको समृद्धिका लागि मानिसहरु विदेश गएर हुँदैन, त्यो अल्पकालका लागि मात्रै हो । दीर्घकालका लागि त स्वदेशमै फर्किनु पर्छ । त्यसको लागि हामी वित्तीय साक्षरता गाउँगाउँमा फैलाउँदैछौँ । समृद्धि मुलुकमै सम्भव छ, आत्मनिर्भर हामी बनाउन सक्छौँ, हामीले नै सबै काम गर्नुपर्छ भन्ने सन्देश हामी दिइरहेका छौँ । समृद्धिका लागि हामीले कृषि कर्जामा जोड गरेका छौँ । बैँकको कर्जाको २५ प्रतिशत प्राथमिकता क्षेत्रमा जानुपर्छ र १० प्रतिशत कर्जा कृषि क्षेत्रमा जानुपर्छ, त्यो गरेन भने बैंकलाई हामी ‘प्यारालाइज’ गर्छौँ ।

अर्को, हामीले पुर्नकर्जा पनि उपलब्ध गराउने व्यवस्था गरेका छौँ । उद्योगधन्दा खोल्दा पूँजीको अपर्याप्तता भयो भने हामीले ३ प्रतिशतका दरले बैँकलाई ऋण दिन्छौँ । बैँकले ७ प्रतिशतमा उहाँहरुलाई ऋण दिन्छ । त्यसबाट जसले मुलुकमा राम्रो रोजगारी सिर्जना गरेका छन्, जसले उत्पादन गरिरहेका छन्, राम्रो विक्रि गरिरहेका छन्, तिनलाई पुर्नकर्जामार्फत ब्याजदरमा सहुलियत दिने गरेका छौँ ।

प्रत्यक्ष वैदेशिक लगानीलाई हामीले प्रोत्साहन गरिरहेको छौँ ।

यस्तै ‘सबै नेपालीको बैँक खाता’ भन्ने कार्यक्रम प्रभावकारी भइरहेको छ । जबसम्म बैँकमा खाता हुँदैन, तबसम्म त्यो मान्छे उद्यमी बन्नै सक्दैन् ।  त्यसकारण समृद्धिका लागि बैँक र बीमासँग पनि नाता जोड्नुपर्छ । सरकारले सामाजिक सुरक्षा भत्तादेखि छात्रवृत्तिसम्म खातामार्फत नै कारोबार गरिरहेको छ । त्यसकारण खाता खोल्ने कुरा पनि समृद्धिको सूचक हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

अहिले अर्थ मन्त्रालयले हामीलाई जे जस्तो निर्देशन दिइरहेको छ, त्यसलाई केन्द्रीय बैँकको तर्फबाट हामीले आत्मसाथ गरेका छौँ । सरकारका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि हामी लागिरहेका छौँ । आगामी दिनमा पनि हामी त्यसरी नै प्रतिवद्ध भएर काम गर्नेछौँ । जहाँसम्म नयाँ गर्भनरको विषयको कुरा छ । त्यसका लागि आफूमा आइपर्ने जिम्मेवारीका लागि म पूर्ण रुपमा तयार र योग्य छु । सरकारले निर्णय गर्दा संस्थालाई बुझेको संस्थाभित्रकै व्यक्ति छनोट गरियोस् भन्न चाहन्छु ।

प्रतिकृया

प्रतिकृया