काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्, ‘रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’


ADVERTISEMENT

# # #


चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।