काठमाडौँ– नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताएका छन् ।


ADVERTISEMENT


महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताए । उनले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गरे ।

महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।

सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार आचार्य ७३२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरेका थिए ।