विराटनगर — प्रदेश १ का मुख्य नाकामा जोखिम बढेको भन्दै प्रदेश सरकारले नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले सिमानामा आवतजावत हुने सानाठूला सबै नाका बन्द गर्न आग्रह गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।


ADVERTISEMENT


भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा जोगबनी मूल नाकासहित ९ छोटी भन्सार र अन्य १४ वटा गल्ली नाकाबाट आउजाउ हुने गरेको छ । ‘सीमाका २४ वटा नाकाबाट आउजाउ भइरहेको छ । २४ नाकामध्ये हाल जोगबनीसहित तरिगामा, डुमरिया, जहदा, गडरिया, खयरवना, मायागन्ज, धनपाल थान र रंगेलीको चोप्रा नाकामा हेल्थ डेक्स राखेर आउजाउ गर्नेको तापक्रम मापन हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


अन्य १५ वटा नाकामा हेल्थ डेक्ससमेत छैन । ती नाकाबाट आउजाउ बन्द गर्ने प्रशासनको तयारी छ ।इलाम प्रवेशद्वारमा हेल्थ डेक्स नहुँदा संक्रमणको जोखिम देखिएको छ । भारतको दार्जिलिङबाट नेपाल प्रवेश गर्ने थुप्रै नाका भए पनि पशुपतिनगर फाटकमा मात्र हेल्थ डेक्स राखिएको छ । पशुपतिबाहेक मानेभन्ज्याङ, सिमाना, हिले, छब्बिसे, शान्तिबजारलगायत नाकामा सुरक्षाको उपाय अवलम्बन गरिएको छैन ।

झापाको काँकडभिट्टास्थित नाकाबाट बंगलादेशबाट फर्किने नेपाली विद्यार्थी र भारतमा कार्यरत नेपाली फर्कने क्रम जारी छ । प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले १० दिनमा ८३ हजार ५७ नेपाल भित्रिएको र ८१ हजार ४ सय १४ जना नाकाबाट बाहिरिएको जानकारी दिए । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले शनिबारबाट सवारी आवागमनमा रोक लगाइएको बताए ।
सुनसरीका नाकामा पनि उस्तैभारतसँग जोडिएका सुनसरीका १२ नाकामा हेल्थ डेस्क राखिए पनि भरपर्दो देखिएको छैन । सुनसरीको दक्षिणी भेगका विभिन्न नाकामा राखिएका हेल्थ डेस्कका कर्मचारीले सामान्य ग्लोब्स र मास्कको भरमा जाँच गरिरहेका छन् । सीमा नाकाबाट भित्रिने भारतीयलाई ज्वरो भएरनभएको नापेर निर्बाध आउजाउ दिइएकाले कोरोना संक्रमणको जोखिम बढेको छ । सीमावर्ती बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले नाकाबाट भारतीय नागरिकको आवतजावत रोक्ने निर्देशन नभएकाले सामान्य जाँच गरेर प्रवेश गर्न दिने गरेको उनले बताए ।

सुनसरीका प्रजिअ राजेश पौडेलका अनुसार जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ । ‘सुनसरीका सीमा नाका विदेशी नागरिक छिर्ने अध्यागमन डेस्कजस्ता होइनन्,’ उनले भने, ‘किनमेलका लागि भारत जाने र भारतबाट नेपाल आउने स्थानीय समुदायले ती नाका प्रयोग गर्ने गरेका छन् ।’

मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा कोरोनाको सम्भावित संक्रमणबाट जोगिन अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाइएको छैन । जाँच चौकीमा भारतको कोलकातालगायत ठाउँबाट मालवाहक ठूला साधन लिएर चालक, सहचालक र सहयोगीको टिम आउने गरेको छ । दैनिक ३ सय ५० वटा मालवाहक सवारी आउने गरेको जाँच चौकीले जनाएको छ ।
प्रदेश २ मा पर्ने सीमा क्षेत्र ठप्प पारिनेकोभिड–१९ को संक्रमणको सम्भावित जोखिम आकलन गर्दै प्रदेश २ का सुरक्षा अधिकारीहरूले सीमामा ‘लकडाउन’ जतिकै सतर्कता अपनाएका छन् । भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरेपछि शनिबार प्रदेश २ का ८ वटै जिल्लाका सुरक्षा समितिको बैठक बसेर सीमा क्षेत्रमा ‘आउजाउ’ ठप्प पार्ने निर्णय गरिएको हो ।

‘चुनावका बेला गरिने बोर्डर सिलकै जस्तो रणनीति अपनाइएको छ,’ प्रदेश २ का सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले भने । उनका अनुसार मालवस्तु आयातनिर्यातका लागि पर्साको रक्सौल र धनुषाको जटही सीमामा मात्र अनुमति दिइएको छ । धनुषाका प्रजिअ कोषहरि निरौलाले धनुषाको जटही र खजुरी नाकाबाट मात्र ओहोरदोहोर गर्न दिने निर्णय गरिएको बताए । जनकपुरको मुजेलियास्थित मणिपाल मेडिकल कलेजको भवनमा क्वारेन्टाइन बनाउन थालिएको उनले बताए ।

प्रदेश २ का ८ जिल्लामा ३९ भन्सार नाका छन् । यी जिल्लाबाट भारतसहित खाडी मुलुकमा काम गर्नेको संख्या धेरै छ । सामान्य अवस्थामा प्रदेश २ को एक सीमाबाट दैनिक २ हजार जना ओहोरदोहोर गर्छन् । सीमा क्षेत्रका ७५ ठाउँमा हेल्थ डेस्क र प्रहरीको चेक प्वाइन्ट थपिएको छ । ‘सीमा क्षेत्रबाट कोरोना भाइरसको आशंकित र संक्रमित व्यक्ति भेटिएको छैन,’ प्रदेश २ नेपाल प्रहरीका डीआईजी प्रद्युम्न कार्कीले भने, ‘प्रहरीको पोस्ट रहेका सबै सीमाक्षेत्रमा आउजाउ रोकिएको छ । प्रदेशमा लगभग लकडाउनको स्थिति छ ।’

सप्तरीको सीमा नाकाबाट आउजाउ गर्नेलाई आफ्नै मुलुकतर्फ स्वास्थ्य जाँच गरेर फर्काउन थालिएको छ । यसअघि दैनिक रूपमा सयौंको संख्यामा सप्तरी सीमा जोडिएको भारतको कुनौली बजारमा किनमेलका लागि सर्वसाधारणलाई शनिबारबाट रोक लगाइएको छ । ११ स्थानमा हेल्थ डेस्क राखिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले कोभिड–१९ को संक्रमण भित्रिन नदिन मुख्य नाकाबाट जाँच गरेर मात्रै आउजाउ गर्न दिइएको बताए ।

स्रोत:  इ- कान्तिपुर