एजेन्सी – भारतमा आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ लागू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका थिए । जनता कर्फ्युको अनुभव र सफलताले आगामी कोभिड–१९ को चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ ।


ADVERTISEMENT


भारतले संक्रमण फैलिन नदिन आइतबारदेखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।


ADVERTISEMENT

# # #


विदेशबाट फर्केका भारतीय एवं विदेशी पर्यटकका कारण संक्रमण बढेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । भारतमा पहिलो संक्रमण चीनको वुहानबाट फर्केका केरलाका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि पुष्टि भएका अधिकतर संक्रमित पनि विदेशबाट फर्केकाहरू छन् । भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन् । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।

भारतमा कोभिड–१९ को त्रास बढ्दै गएपछि केही दिनयता दिल्ली, मुम्बई, चण्डीगढ, बैंग्लोर, चेन्नईलगायतका सहरबाट नेपाली घर फर्किने क्रम बढेको छ । तर रेल सेवा बन्द गरिएपछि उनीहरूलाई असर पर्नेछ ।

भारतको प्रेस इन्फरमेसन ब्युरोले बिहीबार साँझ सूचना जारी गर्दै ६५ वर्षमाथि र १० वर्षमुनि उमेरकालाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको थियो । भारतको केन्द्र सरकारअन्तर्गतका कर्मचारीमध्ये तल्लो तहका ख र ग श्रेणीका करिब ५० प्रतिशतलाई घरबाट काम गर्न परिपत्र जारी गरिएको छ । अन्य कर्मचारीलाई पनि तीन सिफ्टमा कार्यालय आउन भनिएको छ । आपत्कालीन र विशेष सेवाबाहेकका कर्मचारीलाई घरबाटै काम गराउन निजी क्षेत्रसँग आग्रह गरिएको छ । दिल्ली सरकारले बिहीबार सबै रेस्टुराँ बन्द गर्न आदेश दिएको छ । देशभरका आईआईटी कलेजका छात्रावास शनिबारसम्म खाली गर्न आदेश दिइएको छ । विदेशी विद्यार्थीलाई भने यो आदेश लागू हुने छैन ।

राजस्थान सरकारले ३१ मार्चसम्म सबै किसिमका सरकारी र अर्द्धसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । भारतले बुधबार मात्र युरोपका २७ देशमा रहेका आफ्ना नागरिकलाई समेत ३१ मार्चसम्म स्वदेश फर्कन रोक लगाउने निर्णय गरेको थियो । भारतले विदेशी नागरिकलाई जारी गरिएका सबै भिसा खारेज गर्ने निर्णयसमेत गरिसकेको छ । थप नौ देशका नागरिकलाई पनि यस्तै रोक लगाइएको छ । अन्य ११ मुलुकबाट आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । इटाली, चीन र दक्षिण कोरियाबाट आउने भारतीयले कोभिड–१९ को संक्रमण नभएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन र फ्रान्स ट्रान्जिट पारेर आउने भारतीयले समेत १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । र, यो व्यवस्था भारत ओर्लेर सडक मार्ग हुँदै नेपाल जाने नेपालीका लागि पनि लागू गरिएको थियो ।

भारतमा बिहीबार साँझसम्म कोभिड–१९ बाट १ सय ७३ जना संक्रमित भएका छन् । चार जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये २५ जना विदेशी छन् । १८ राज्यमा संक्रमित देखिएका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा छन् । त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र भारतभर कोभिड–१९ का १८ जना नयाँ बिरामी पुष्टि भएको छ ।