झापा – भारतले ‘जनता कर्फ्यु’ ’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आज बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्की बताउँछन् ।


ADVERTISEMENT


कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको ‘कर्फ्यु’ ले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उनको धारणा छ । उनका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ । काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको पाइएको उनले बताए । नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएर राम्रो गरेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको ‘जनता कर्फ्यु’ ’ले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताए । नाका बन्द गर्ने विषय सङ्घीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उनको भनाइ छ ।

नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आज पाँच वटा मात्र छोटो दूरीमा चलाइएको उनले जानकारी दिए । चलाइएका बसमा समेत यात्रु नभएर खाली कुदाउनु पर्दा ठूलो घाटा व्यहोर्नु परिरहेको उनी बताउँछन् ।

काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटङ्की नाकाका खटिएका पश्चिम बङ्गाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ ‘जनता कर्फ्यु’ ’का कारण पूरै बन्द रहेको बताए। बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उनको भनाइ छ ।

छिमेकी मुुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे सङ्क्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समेत नाकालाई सरकारले बन्द गर्नुपर्ने अवस्था भइसकेको बताउँछन् । उनले प्रदेश नं १ सरकारलाई मेचीनगर नगरपालिकाका तर्फबाट काँकडभिट्टा नाका बन्द गराइदिन ध्यानाकर्षण गराइसकेको बताए । रासस