काठमाडौँ – नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ ।


ADVERTISEMENT


विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न आवश्यक तयारी गरिरहेको छ । यो परिस्थितिमा सम्बन्धित निकाय, आम नागरिक र सरकारले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भई सङ्क्रमण हुनबाट आफू जोगिई अरूलाई पनि जोगाउन तरुण दलले सबैमा अपिल गरेको छ ।


ADVERTISEMENT

# # #


रुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत विभिन्न कामका लागि मुलुकबाहिर गएका सम्पूर्ण नेपाली नागरिकलाई जो जहाँ छन्, केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनसमेत अनुरोध गरेका छन् । साथै उनले सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

हाल ठूला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेशनका लागि तयारी अवस्थामा राख्न सकिने तरुण दलको सुझाव छ । अध्यक्ष बस्नेतले धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटल, तालीम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगका लागि सम्बन्धित निकायसँग सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन माग गरेका छन् ।

बजारमा मास्क, औषधि, स्यानिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी देखिन थालेको उल्लेख गर्दै तरुण दलले कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न तथा जनताका न्यूनतम् सेवासुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गर्न माग गरेको छ ।

तरुण दलले स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरुप थप सेवासुविधामा प्रबन्ध गर्न र दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।