काठमाडौँ – नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोगँबुस्थित नयाँ बसपार्क सुनसान बन्दै गएको छ । सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै आजदेखि नयाँ बसपार्क सुनसान बनेको हो ।


ADVERTISEMENT


नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर अधिकांश बस यात्रु बोकेर काठमाडौँ बाहिर गएकाले नयाँ बसपार्क सुनसान बन्दै गएको बताउँछन् । “नयाँ बसपार्कभित्र रहेका अधिकांश बस आज बिहानसम्म यात्रु बोकेर उपत्यका बाहिरिएका छन्”, उनले भने ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताउँछन् ।

नयाँ बसपार्कमा हाल दैनिक एक हजार ५०० हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर पछिल्ला केही दिन नयाँ बसपार्कमा यात्रुको खचाखच भए पनि आजबाट लामो दूरीका सवारी साधन गुड्न छोडेपछि बसपार्क सुनसान बन्दै गएको बताउँछन् ।

एकसय ६२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा हाल एक हजारभन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्छ । रासस