गोरखा- कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएकी नेपाली युवतीसँगै हवाई यात्रा गरेका गोरखाका युवकको स्वास्थ्य परीक्षण र निगरानी सुरु भएको छ ।


ADVERTISEMENT


गोरखाको भिमसेन थापा गाउँपालिका ४ को धावा घर भएका ती युवक कतार एयरवेजको जहाजबाट गएको चैत ४ गते नेपाल आएका थिए । त्यही जहाजमा यात्रा गरेकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।


ADVERTISEMENT

# # #


सँगै यात्रा गरेका युवकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली भर्खरै उनको घरमा पुगेको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालले बताए । ती युवक रोजगारीका लागि पोर्चुगलमा रहेका थिए । उनी दोहा हुँदै नेपाल फर्किएका हुन् ।

साथै कोरोना भाइरसको संक्रमण देखिएकी युवतीको अवस्था सामान्य रहेको छ । फ्रान्सबाट गएको चैत ४ गते कतार हुँदै नेपाल आएकी उनको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशन वार्डमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए ।

ती युवतीमा कोरोनाको सामान्य सङ्क्रमण देखिएको तर स्वस्थ मान्छेकै जस्तो अवस्था रहेको उनको भनाइ छ । यस्तै डाक्टरको सल्लाह र सुझाव अनुसार उनको दोस्रो पटक पनि  परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमित ती युवतीको आसपासमा वा सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि जनाएको छ ।