हामी धेरै चाडपर्व मनाउँछौँ । त्यसमध्ये महिलाको महान् पर्व मानिने हरितालिका तिज पनि एक हो । तिजमा आफन्तहरू भेट हुने, भेला हुने र खाने, खुवाउने चलनै छ । तिजको वेलामा स्वास्थ्यमा ख्याल नगरी खाने चलन छ । यसरी खाँदा हाम्रो स्वास्थ्यमा असर पर्छ । मिठो पाए अलि बढी खाइहाल्ने धेरैको बानी हुन्छ । खाने क्रममा आज एक दिन त हो नि, यति खाएर के हुन्छ र, कति बार्नुजस्ता कुराले मन थाम्न नसक्ने धेरै देखिन्छन् । हाम्रो शरीरका लागि जति आवश्यक छ, त्यति मात्रामा मात्रै खानुपर्छ । व्रत लिँदा र तिजमा दर खाँदा ध्यान दिनुपर्ने यी महत्वपूर्ण कुराबारे सरला कट्टेलले वीर अस्पतालकी डाक्टर तृष्णा कर्णसँग कुराकानी गरेकी छिन् ।


ADVERTISEMENT


दर खाँदा कस्तो कुरामा ध्यान दिने ?


ADVERTISEMENT

# # #


खाना खाँदा आफ्नो अञ्जुलीको एक अञ्जुली खाना खानुपर्छ । ठूलो मुठीले एक मुठी दाल र दुई अञ्जुली तरकारी खानुपर्छ ।

हाम्रो तौल र हाइटअनुसार खानेकुरा खाने गर्नुपर्छ । हामीले दैनिक खाने आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खाने गर्नुपर्छ ।

पानी हाम्रो शरीरका लागि नभई नहुने हो । पानी नखाई व्रत बस्दा पानीको कमीले बेहोस हुने समस्या हुन्छ । पानीको कमीले बेहोस भएको छ र लामो समय पानी पाएन भने मृत्यु पनि हुन सक्छ ।

पेट टम्म हुने गरी खाना खानु हुँदैन । धेरै खाँदा बान्ता हुने पखाला लाग्ने, अल्छी लाग्ने, निद्रा लाग्ने, कमजोर महसुस हुने हुन्छ । डिप फ्राइड मासु नखाने, सकेसम्म मासु उमालेर खाने, मसला धेरै खानु हुँदैन । खाना नखाए पनि व्रत बस्दा पानी चाहिँ खानैपर्ने हुन्छ । रातो मासु सकेसम्म नखाएको राम्रो हो ।

धेरै चिल्लो खानु हुँदैन । चिल्लो, पिरो धेरै हुँदा ग्यास्ट्रिक हुने, प्रेसर बढ्ने, खाना अमन हुने, बान्ता हुने, पचाउन नसक्ने, कमजोर हुने, निद्रा लाग्ने जस्तो हुन्छ । हाम्रो शरीर पनि मेसिनजस्तै हो । त्यसैले खाना हाम्रो शरीरले जति लिन्छ, त्यति मात्र खानुपर्छ ।

व्रत बस्दा ध्यान दिनुपर्ने कुरा
व्रत स्वास्थ्यका लागि राम्रो पनि हो । व्रत लिँदा, दिमाग तेज हुन्छ, शरीर हल्का महसुस हुन्छ, दिमागमा पोजेटिभ कुराहरू आउँछन्, शरीरले आराम पाउँछ । काममा फोकस हुनेजस्ता राम्रा पक्षहरू पनि हुन्छन् । तर, शारीरिक रूपमा कमजोर, बिरामी, बालबालिकाहरूले चाहिँ व्रत लिनु हुँदैन ।

पानी नखाई व्रत बस्ने चलन छ । यो हाम्रो स्वास्थ्यका लागि खराब हो । तर पनि धेरैले यसलाई बेवास्ता गर्छन् । हाम्रो जीवनमा दैनिक ७ देखि ८ गिलास पानी आवश्यक हुन्छ । यदि त्यति मात्रामा पानी भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, निद्रा लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।

व्रतको अघिल्लो दिन दर खाँदा व्रतको दिन इनर्जी बचत भएको हुन्छ । तर, पानी नभएपछि हाम्रो शरीरमा ग्लुकोज कम हुन्छ । व्रतको दिन पानी खाएन भने हाम्रो शरीरमा भएको ग्लुकोजको मात्र प्रयोग हुन्छ । मान्छे बेहोस हुन्छ । पानीको कमीले गर्दा बेहोस भएको मान्छेले समयमै पानी पाएन भने मृत्युसमेत हुन सक्छ । हामीले नराम्रो कल्चर छाड्दै राम्रा कुरा मात्र लिनुपर्छ । पानी नखाई व्रत बस्ने भन्ने कुरा एकदम गलत हो । व्रतको दिन पानी, फलफूल खानुपर्छ ।


शरीरमा थकान महसुस भएको छ भने व्रत बस्नु हुँदैन । व्रतको दिन काम गर्नु छ भने व्रत बस्नु हुँदैन । व्रत सकिएपछि हाई प्रोटिन भएको खाना खानु हुँदैन । दिनभरि व्रत बस्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले रेसादार खानेकुरा जस्तो– साग, गाँजर, काँक्रो, लाइट खानाहरू खानुपर्छ ।

व्रत बस्नुअगाडि शारीरिक र मानसिक रूपमा तयार रहनुपर्छ । तनाव महसुस भइरहेको छ भने व्रत बस्नु हुँदैन ।

१८ वर्षभन्दा कम उमेरकाले व्रत बस्नु हुँदैन । यो उमेरका मानिसको शरीर व्रतका लागि परिपक्व हुँदैन । व्रत बस्दा पानी कम हुने, निद्रा लाग्ने, थकाइ लाग्ने, पे्रसर कम हुनेजस्ता समस्या देखा पर्न सक्छन् ।

स्रोत: नयाँ पत्रिका