चितवन – कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्कोतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् ।


ADVERTISEMENT


सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । किसानले दुध उत्पादन गरेपनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ ।


ADVERTISEMENT

# # #


व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दुग्ध सङ्कलन केन्द्रले दुध नै नलिदाँ समस्या परेको जानकारी दिए । “दुधको उत्पादन छ के गर्नु सङ्कलन केन्द्रले दुध नै लिन मान्दैनन ।”उनले भने । अध्यक्ष न्यूरेका अनुसार डीडीसीको सङ्कलन केन्द्रले नै दुध नलिएका कारण समस्या भएको हो । साथै चोकर दाना पनि पाउन छाडिएपछि चौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ ।

काठमाडौबाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको किसानको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङघका सचिव किशोर बगाले दुध सङ्कलन र वितरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताउँछन् । “उपभोक्ता नै घरबाहिर निस्कदैनन् । सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन । ” उनले भने ।

आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उनको भनाई छ । दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको साना डेरीका सञ्चालकहरु बताउँछन् । मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा डेरी खोल्यो पसलमा मानिसको भीड हुने हुँदा आँफैलाई डर हुने गरेको बताउँछन् ।

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था पनि आजबाट बन्द भएको व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिए । उनले भने “खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।” उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको थियो । किसानबाट सङकलन गरे पनि दुध बिक्री नभए पछि सङकलन गर्न छाडिएको हो ।

जिल्लामा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ । यहांँ झण्डै ५०० व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन । भिजन डेरी उद्योग प्रा.लि.भरतपुरका प्रबन्धनिर्देशक सुजन अधिकारी दैनिक चार हजार पाँच सय लिटर दुध बिक्रि हुने गरेकोमा आज दुई सय लिटर मात्र बेच्न सकेको बताउँछन्। सहकारीबाट ल्याउनेदेखि उपभोक्तासम्म पुर्‍याउन समस्या नै समस्या भएकाले काम गर्न नसकेको उनको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको चितवन मिल्कमा नीजि डेरीहरुले सङकलन गरेको दुध प्रशोधन गरि पाउडर वनाउँदै आएको भए पनि बुधबारबाट उद्योग वन्द भएको छ । उद्योगमा प्रयोग हुने रसायनको अभाब र मजदुर तथा कर्मचारी सहज आवागमन गर्न नपाएपछि उद्योग बन्द भएको जनाईएको छ । रासस