एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग सामना गर्नका लागि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याउने कानुनमा शनिबार हस्ताक्षर गरे। त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ।


ADVERTISEMENT


यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन सिनेटमा छलफल भएको थियो। अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधबार दर्ता भएपछि तिनीहरूको व्यवस्थापनका लागि आर्थिक राहतको प्याकेज ल्याइएको हो।विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण शनिबार साँझसम्म विश्वभर छ लाख २० हजार ७२३ जनामा पुष्टि भइसकेको छ भने यसका कारण विश्वभर २८ हजार ६५० जनाको मृत्यु भएको छ।


ADVERTISEMENT

# # #


कानुनमा हस्ताक्षर गर्नु ठिक अघि ट्रम्पले ’डिफेन्स प्रोडक्सन एक्ट’ (डिपिए) भनिने कानुन पनि लागू गरेका थिए। उक्त कानुनले राष्ट्रपतिलाई निजी कम्पनीहरूलाई देशलाई आवश्यक पर्ने वस्तु उत्पादनको निम्ति बाध्य पार्ने अधिकार दिनेछ। यो निर्देशनले जनरल मोटर्सलाई संघीय सरकारको निम्ति निकै खाँचो रहेको मेडिकल भेन्टिलेटर बनाउन बाध्य पार्ने राष्ट्रपति ट्रम्पले बताए। त्यसअघि उनले ट्वीट गर्दै उक्त कम्पनीले अत्यावश्यक रहेको ‘४० हजार भेन्टिलेटर निकै छिट्टो दिने वाचा गरेको’ बताएका थिए। डेमोक्र्याटहरूको बर्चस्व रहेको तल्लो सदनमा डेमोक्र्याट र रिपब्लिकन सांसदहरूले तीन घण्टा लामो छलफलपछि राहत प्याकेज स्वीकृत गरेका थिए।

प्याकेजमा प्रति वर्ष ७५ हजार अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई एक हजार २०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्‍याउने बताइएको छ।  अमेरिकामा सङ्क्रमण नफैलियोस् भनेर देशका सबै राज्यमा बढी चहलपहल हुने रेस्टुरेन्ट, बार, सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्। पछिल्लो स्वास्थ्य संकटका समय अमेरिकी श्रमिकमा हरेक पाँचजनामा एकजना कुनै न कुनै किसिमको लकडाउनमा परेको अर्थशास्त्रीहरूले बताएका छन्।