काठमाडौं –  भारतसहित विदेशबाट आएका नागरिकको स्थानीय तहले लगत संकलन गरिरहेको छ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको समन्वयमा लगत संकलन गरिरहेको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीले दिएको जानकारीअनुसार चैत ४ गतेदेखि अहिलेसम्म १३ दिनमा ४१ हजार ४४० जना भारतसहित तेस्रो मुलुकबाट भित्रिएका छन् ।


ADVERTISEMENT


“भारतसँग सीमा जोडिएका २७ जिल्लासहित ७७ वटै जिल्लाका स्थानीय तहले विदेशबाट आएका नागरिकको लगत संकलन गरिरहेका छन् । अझै पनि तथ्यांक आउने क्रम जारी छ । लगत संकलन भइरहेको छ । स्थानीय तहमार्फत भइरहेको छ,” सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीले   भने ।


ADVERTISEMENT

# # #


उनले ७५३ वटै तहलाई भारतसहित विदेशबाट आएका नागरिकहरुको नामावली संकलन गर्न आग्रह गरेको जानकारी दिए । ४१ हजारमध्ये ३८ हजार बढी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पनि सामान्य प्रशासन मन्त्रालयको सहयोगमा विदेशबाट आएका नागरिकको नामावली संकलन भइरहेको बताए ।

यसैबीच पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.  खेम कार्कीले कोरोनासँगै स्थानीय स्तरमा विदेशबाट आएका नागरिकलाई ‘गाउँ छोडेर जाऊ’ भन्नेसम्मका आरोप लाग्ने गरेको सूचना आफूहरुकहाँ आएको बताउँदै त्यसो नगर्न आग्रह गरे ।

“जो मर्‍यो त्यो कोरोनाले नै मर्‍यो भन्ने प्रचार नगरौँ । गाउँघरमा पनि कोही मर्‍यो भने कोरोनाले मर्‍यो मलामी पनि जानुहुँदैन भन्ने हुन थालेको छ,” उनले भने, “यसरी पनि प्रचार नगरौँ । अरु रोगले मृत्यु भएको विषय पनि कोरोनासँग नजोडौँ । मनको त्रास र भय झनै बढ्यो ।”

उनले कोरोनाले अहिलेसम्म नेपालमा कोही पनि नमरेको बताउँदै बुटवलमा आइतबार मृत्यु भएका युवकको रिपोर्ट पनि नेगेटिभ आएको बताए ।

“पाँचदेखि ६ प्रतिशतलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने हुन्छ,” उनले भने, “कोरोना अहिले गाउँ गाउँमा फैलिइरहेको छैन । त्यसरी नडराऔँ । कसैको मृत्युमा मलामनै नजाने काम बन्द गरौँ, त्यसो गर्नुहुँुदैन ।” उनले अहिले विदेशबाट आएका नागरिकहरु को कताबाट आएका हुन्, ककसलाई भेट गरेका छन् भन्ने निगरानी भइरहेको बताए । “यति पनि नडराऔँ कि विदेशबाट आएका मान्छेलाई गाउँ छाडेर जाऊ भन्नेसम्मका अवस्था नआओस्,” उनले भने ।