काठमाडौं – विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आडानोम घेब्रियससले जेनेभामा नियमित ब्रिफिङका क्रममा कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT


उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई गरेको सहयोग कटौती गर्ने विषयमा दिएको चेतावनीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिले सम्पूर्ण राजनीतिक दलको जोड भनेको मानिसको जीवन बचाउने हो । यदि कुनै राष्ट्र अथवा विश्वव्यापी रुपमा फुट उत्‍पन्‍न भएमा भाइरसको जित हुनेछ ।’


ADVERTISEMENT

# # #


‘हामीले विश्‍वभरबाट ६० हजार मानिस गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ? उनले भने, ‘कोभिड-१९ लाई लिएर राजनीति गर्नु आवश्यक छैन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोना भाइरस नियन्त्रणको पहलमा कमजोरी गरेको र चीनतर्फ बढी केन्द्रित भएको आरोप लगाउँदै अमेरिकाले दिने सहयोग बन्‍द गर्ने चेतावनी दिएका थिए ।

डब्लूएचओ प्रमुख घेब्रियससले अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘मलाई पूर्ण विश्वास छ कि अमेरिकाले आफ्नो सहयोग जारी राख्‍नेछ ।’

उनले थपे, ‘दैनिकरुपमा विश्व साँघुरिँदै गएको छ भने विगतभन्दा अहिले एक्यबद्धताको निकै ठूलो महत्व भएको छ । त्यसकारण यस भाइरसविरुद्ध सब एक भएर लड्‍न आवश्यक छ ।’ त्यसैगरी डब्‍लूएचओले कोरोना भाइरस कुनै घरपालुवा जनावरबाट सरेको प्रमाण नभेटिएको समेत बताएका छन् ।

( बीबीसी)