– पर्शुराम बस्नेत


ADVERTISEMENT


संकट र महामारीहरु साइत हेरेर आउँदैनन् । कोरोनाको संकट पनि साइत हेरेर आएको होइन । चीनमा गत डिसेम्बरमै फैलिएको यो महामारीका बारेमा चीन सरकार पनि सुरुमा जानकार थिएन ।


ADVERTISEMENT

# # #


संसारका हरेक सरकार, नागरिक, चिकित्सक, अनुसन्धानकर्ताहरुले पनि यो भाइरसले यो हदसम्मको भयावह अवस्था ल्याउन सक्छ भन्ने अनुमान गरेका थिएनन् । त्यसैले यसको तयारीका बारेमा विश्वका कुनै देशसँग पनि यो भाइरससँग लड्ने पूर्व तयारी थिएन । आज संसारका आर्थिक, सामरिक लगायत विज्ञान तथा प्रविधिका क्षेत्रमा वडेमान भनिएका देशहरु पनि यसको संक्रमणलाई र यसका कारण हुने मृत्युलाई रोक्न सकिरहेका छैनन । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि यसको संक्रमण रोक्ने काममा हावाकावा भइरहेको अवस्था छ भने युरोपका इटाली लगायत अन्य देशहरु यो भाईरसको सबैभन्दा पीडा खेप्ने देश बनेका छन् ।

हामीले स्वीकार्ने ययार्थता के हो भने विश्वका अन्य देशहरुको तुलनामा हाम्रा उपलब्ध स्रोत साधनहरु कमी नै रहेका छन् । चीन कोरोना भाइरसबाट प्रताडित बनिरहेको बेला अमेरीका लगायत पश्चिमा देशहरु यो समस्या हामीकहाँ आइपुग्छ र यसले हामीलाई पनि प्रताडित बनाउछ भन्ने कुरा सोचिरहेका थिएनन् । हाम्रो छिमेकी देश भारतका सञ्चार माध्यमहरु पनि चीनमा देखिएको यो समस्याले आर्थिक हिसाबले चीन अव डुब्न सक्छ भन्ने खालका प्रचार गरिरहेको अवस्था थियो । तर, नेपालले शुरुदेखि नै यो समस्यालाई आफनो समस्याको रुपमा बुझ्यो र चीनको उहानबाट अध्ययन गरिरहेका विद्यार्थीहरुलाई राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर उद्धार गरयो । १४ दिनसम्म भक्तपुरको खरीपाटीमा क्वारेण्टाइन स्थापना गरी उद्दार गरेका विद्यार्थीहरुलाई राख्यो ।

नेपाली सेना र चिकित्सकहरुको परिचालनको विषयलाई हामी सबैले वाहवाही गर्‍यौँ । क्वारेन्टाइन वा आइसोलशनको नाम पनि नसुनेका हामी नेपालीहरुले सरकारको कामलाई सबै क्षेत्रबाट प्रसंशा पनि गर्‍यौँ । यो घटनाबाट हामीले बुझ्नु पर्ने कुरा के हो भने देशमा एकजना पनि संक्रमित मानिसहरु नभेटिदा देशमा यो भाइरसको संक्रमण रोक्ने कुरामा अन्य देशको तुलनामा हाम्रो सरकार कती जिम्मेवार थियो भन्ने कुरा अहिले हामीले बिर्सियौँ ।

हामी सवैलाई थाहा छ, अहिले नेपाल कोरोना संक्रमणको जोखिममा छ । यो जोखिमबाट नेपाललाई बचाउन सरकारले लकडाउन नीति लागू गरेको छ । सरकारबाट राहत प्याकेजहरु वितरण गरिएका छन् । संघीय सरकार मात्र होइन, प्रदेश सरकार, स्थानीय तह र सरकारका सबै संरचनाहरु यसको नियन्त्रणमा रातदिन जुटिरहेका छन । हिजो १ जनालाई पनि कोरोन्टाइनमा राख्ने अवस्था नभएको देशमा अहिले लगभग ३५ हजार जति मानिसहरुलाई आइसोलेशनमा राख्ने क्षमता सरकारले बनाएको छ । हिजो १ महिना अगाडि कोरोना भाईरसको परीक्षणका लागि हङकङ पठाउने बाध्यता हामीसँग थियो । अहिले केन्द्र र प्रदेशहरुबाट गरी १० ठाउँबाट परीक्षण हुन्छ । कोरोना संक्रमण नियन्त्रणका लागि अन्यौलको अवस्थामा रहेको हाम्रो चिकित्सा क्षेत्र आज उत्साहका साथ यसको नियन्त्रणमा लागेको छ । देशका सुरक्षा संयन्त्रका सबै संरचनाहरु यो भाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन ज्यान दिएर लागेको अवस्था छ ।

अमेरिकालाई लगायत अन्य वडेमानका देशहरुले मास्क, आइसोलेशन, पीपीई थर्मोमीटर लगायतका स्वास्थ्य संयन्त्रको निकै ठुलो अभाव महसुस गरिरहेको अवस्थामा नेपालजस्तो देशले तयारी अभावका कारण यसको पर्याप्ततामा केही कमी हुनु स्वाभाविक नै हो । संसारका अन्य देशहरुमा कोरोना संक्रमितहरुको संख्या ठूलो मात्रामा हुनु, त्यसबाट निकै ठुलो मात्रामा मानिसहरुले ज्यान गुमाइरहेको अवस्थामा अन्य देशको तुलनामा हाम्रो देशमा औँलामा गन्न सकिने संक्रमण मात्र देखा पर्नु र यो कारणबाट १ जनाको पनि ज्यान नजानुमा सरकारी प्रयासको नै योगदान रहेको छ ।

हामी किन नेपालको कोरोनाको नियन्त्रित संक्रमणलाई पशुपतिनाथले रोकेको जस्तो गरेर सरकारले १ महिनामा भएका प्रयास र उपलब्धिहरुलाई लेख्न र बोल्न आँखा चिम्लिरहेका छौ ? बुझ पचाएर आँखा चिम्लिएको मान्छेजस्तो हामी यी उपलब्धिहरुलाई नदेखी यसो भएन, उसो भएन भनेर सरकारलाई कमजोर पार्ने प्रयास गरिरहेका छौ ? यसका पछाडि नेपालमा कोरोनामा भ्रमको राजनीति शुरु भएको छ । धमिलो पानीमा माछा मार्ने रणनीति बनाएर हामी भ्रमको राजनीति मार्फत सत्तारोहणको कल्पना गरिरहेका छौँ ।

सरकार यो भाइसरबाट नागरिकहरुलाई सुरक्षित बनाउन रातदिन खटिरहेको बेला कोही सरकारको मन्त्री र सल्लाहकारहरुको परिवर्तनको माग गर्न पनि पछि परेनन् भने कसैले यही संकटको समयमा मध्यावधी निर्वाचनको समेत माग गरे । प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई लिएर जिम्मेवार भनिएको मानिसबाट ‘फुल टाइम’को प्रधानमन्त्री चाहियो भन्ने माग पनि गरे । आपतकालले त्यसबाट पार पाउन सदैव शीघ्रताको माग गर्दछ । त्यसैले कोरोना भाईरस नियन्त्रण उच्च स्तरीय संयन्त्रको निर्णय बमोजिम चीनबाट ल्याउन लागिएको स्वास्थ्य उपकरण र सम्झौता गरिएको कम्पनीले समयमा सामाग्री उपलव्ध गराउन नसकेपछि त्यो सम्झौता रद्ध गरिएको र सेनालाई उक्त जिम्मेवारी दिएको विषयलाई सरकार र स्वास्थ्य मन्त्रीको तेजोवध गर्नेसम्मका प्रयासहरु भए । काम नपाएर कसैले घरेलु आइशोलेशनमा बसेका हरेक नागरिकहरुको बीचमा कपोल कल्पित र भ्रामक समाचारहरु सिर्जना गरेर मानिसहरुको मान मर्दन गर्न खोजे ।

प्रधानमन्त्रीको सम्बोधनको विषयलाई लिएर यो संकटमा जीवन रक्षाका लागि आइसोलेशनमा रहेका नागरिकहरु भड्काउने उद्देश्यले सरकारले नागरिकहरुको स्वतन्त्रता खोस्यो भन्ने सम्मका प्रोपोगाण्डाहरु सिर्जना गरियो । राष्ट्रपतिबाट आफ्ना कुटनीतिक नियोगहरु मार्फत विदेशमा रहेका नागरिकहरुको अवस्थाका बारेमा सरोकार राख्दा पनि केही मानिसहरुले औँला ठड्याउने दुष्साहस गरे । आखिर केही मानिसहरु किन यस्तो खेतिपातीमा लाग्छन ः आलोचना नगरी र अरुलाई हिलो नछ्यापी उनीहरुलाई किन निद्रा लाग्दैन ? किन मानिसहरु ययार्थता र सत्यलाई स्वीकार गर्न सक्दैनन ? यसका पछाडि सरकारको कोरोना नियन्त्रणको प्रयास सफल भयो भने सरकारको बढ्ने लोकप्रियतादेखि डर छ र यो सरकारलाई कमजोर बनाउन सकिएन भने आफ्नो सत्तारोहणको यात्रा सदाको लागि वन्द हुन सक्छ भन्ने डर पनि रहेको छ । त्यसैले मानिसहरु कन्धनी खोलेर सरकारलाई यो संकटमा वन्दाम गर्ने कोसिमा लागेका छन् । सरकारलाई कमजोर बनाउन गरिएको यो दुष्प्रयासमा उनीहरुलाई आफ्नो कन्धनी खुस्किएको हेक्का भने छैन ।

घरमा बसेर अरुलाई गाली गर्न सजिलो छ । सरकारको विरुद्धमा हिजोदेखि नै लागिरहेका केही स्वनामधन्य बुद्धिजीवीहरु र ‘शेलेक्शन’मा परेका स्वघोषित नेता वा माननीयहरु पनि अहिले यो वा त्यो गर्नुपर्ने, सरकार यहाँ चुक्यो, सरकारले यो गर्न सकेन जस्ता कपोलकल्पित आरोपहरु लगाइ रहेका छन् । यी आरोप लगाउने मानिसहरु आफनो काम र कर्तव्य के हो र त्यसलाई कसरी सम्पादन गर्ने भन्ने कुरा चाँहि बिर्सिएर सरकारलाई गाली गरिररहेको छन् । यो समय भनेको भ्रमको राजनीति गर्ने समय होइन, संकटमा हातेमालो गर्ने समय हो भन्ने कुरा समेत बिर्सेर यही समयमा राजनीतिक लालसा पनि देखाइरहेका छन् ।

यहीबेला तस्कर र कालावजारी गर्नेहरु पनि सल्बलाएका छन । सरकारको कामबाट निचोरिएका अर्थात् आफ्ना गैर कानुनी क्रियाकलापहरु गर्न छुट नपाएको हिजो वा आजको रिसमा यस्ता मान्छेहरु पनि सरकारको विरुद्धमा लागि रहेका छन् । कहिल्यै प्रहरीहरुबाट राहत कोषमा पैसा जम्मा गर्न लगायो भनेर कहिले चिकित्सकहरुलाई पीपीई दिन सकेन भनेर, कहिले सरकारले भ्रष्टाचार गर्‍यो भनेर सरकारलाई कमजोर बनाउने काममा यी मान्छेहरु जमेरै लागेका छन् । यिनीहरुको वलवुत्ताले भ्याएसम्म स्वास्थ्य मन्त्रीको मानमर्दन गर्ने काम पनि गरे । कित्रिम बादल सधैँभरि लाग्दैन र हत्केलाले सूर्यलाई छोप्न पनि गाह्रो हुन्छ भनेजस्तै स्वास्थ्यमन्त्रीको दृढ स्वभाव र संकल्पका साथ गरिरहेको कामको अगाडि यी भ्रमहरु आज पानीका फोकाजस्तै फुटेर गएका छन् । भ्रमको हुण्डरी र खहरे एकछिन चलाउन सकिएला तर यसको आयु लामो हुँदैन भन्ने कुरा स्वस्थ्य मन्त्री माथि मानमर्दन गर्ने उद्देश्यले चलाइएका वेतुकका हल्लाहरु पनि अहिले वन्द भएका छन । हिजोआज सरकारकै ‘इनिशियशन’मा कालाबजारी गर्नेहरु प्रक्राउ पर्न थालेका छन् ।

स्वघोषित वा मिसन मिडियाहरुले सरकारलाई बदनाम गर्न कतिसम्म गर्न सक्छन भन्ने एउटा उदारण हेर्ने हो भने हिजोमात्रै सरकारले निर्णय नगरिकन काठमाडौँबाट मान्छेहरुलाई बाहिर जान दिने भन्ने अपवाह नै गतिलो प्रमाण हो । कोरोनालाई भजाएर नाफाका लागि कुद्ने, तस्कर र कालोबजारीमा लाग्ने र सत्ता परिवर्तन र कुर्सीको सपना देख्नेहरुले यो संकटमा गरिएको भ्रमको ‘कोरोना रानजीति’लाई बन्द गर्नुपर्दछ । किनकि सत्यलाई छोप्ने तपाईंहरुको प्रयासलाई अब जनताले पत्याउनेवाला छैनन् । यदी तपाईंहरुले यो प्रयास जारी राख्नुभयो भने आफुले आकाशतिर फर्केर थुकेको थुक तपाईंहरुकै निधारमा लाग्न सक्दछ । संकटको बेलामा हामीलाई बचाउन गरिएको प्रयासको बाधक तपाईं हो भनेर जनताले बुझेको दिन तपाईंको वचेखुचेको प्रतिष्ठा पनि माटोमा मिल्न सक्दछ ।

हामी बाच्यौँ भने फेरि पनि नेता मन्त्री हुन सकिन्छ, राजनितिमा लागेका सबै मान्छे प्रधानमन्त्री, मन्त्री हुँदैनन । त्यसैले यो माहामारिमा आन्तरिक एकतालार्इ बलियो बनाउँ । लोभ र लाभमा नफसौँ । भ्रम नछरौँ, भ्रमले क्षती मात्र हुन्छ । आउँ हामिमी सबै एक हौँ, सन्सारलाई भ्रम होइन, सकारात्मक सन्देश प्रवाह गरौँ ।

(लेखक युवा संघ नेपाल केन्द्रीय कमिटिका पूर्वउपाध्यक्ष तथा नेकपाका युवा नेता हुन् )