काठमाडौँ – रौतहटमा एक जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।


ADVERTISEMENT


रौतहटको क्वारेन्टाइनमा रहेका एक जनालाई कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती १९ वर्षीय पुरुषको नतिजा पोजेटिभ आएको हो ।


ADVERTISEMENT

# # #


उनलाई क्वारेन्टाइनबाट अस्पताल लैजाने प्रक्रिया सुरु भइसकेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अर्को नमूना परीक्षणमा कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षीय वृद्धामा कोरोना देखिएको छ । उक्त केसको अनुसन्धान र ‘कन्ट्रयाक ट्रेसिङ’को काम भइरहेको उनले बताए । उनको उपचार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा हुने उनले बताए ।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचार पछि घर फर्किएपनि अन्यको भने उपचार भइरहेको छ ।

जसमा आज देखिएको नमूनाबाहेक सेती प्रादेशिक अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा २ जना, काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र वीरगञ्जको नारायणी अञ्चल अस्पतालमा ३ जना उपचाररत रहेका छन् ।

उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।