मोनाको- लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् ।


ADVERTISEMENT


गत सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डो च्याम्पियन्स लिगमा १ सयौँ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनी गत च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता समेत बन्दै नकआउट चरणमा दुई ह्याट्रिकसमेत गरेका थिए ।


ADVERTISEMENT

# # #


रोनाल्डोले यो उपाधि जितेको लगातार दोस्रो र समग्रमा तेस्रो पटक हो । यसअघि उनले सन् २०१३–१४ तथा सन् २०१५–१६ को सिजनमा यो उपाधि जितेका थिए ।
मेस्सीले यो उपाधि दुई पटक जितेका छन् । मेस्सीसँगै युभेन्टसका जियान लुइजी बुफोन अन्तिम तीनमा छनौट भएका थिए ।

रोनाल्डो सन् २०१६–१७ सिजनको फरवार्ड अफ द सिजन पनि घोषित भए । उनले १३ खेलमा १२ गोल गर्दै रियल म्याड्रिडलाई लगातार दोस्रो तथा किर्तिमानी १२ औँ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्पूर्ण भूमिका खेलेका थिए । उनी तीनवटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनले प्रतियोगितामा ६ एसिस्ट पनि गरेका थिए ।

यता, युभेन्टेसलाई फाइनलसम्म पुर्याउन प्रमुख योगदान दिएका कप्तान बुफोन उत्कृष्ट गोलकिपर घोषित भए । ३९ वर्षीय इटालियन खेलाडीले ८ क्लिन राख्दै टोलीलाई फाइनलसम्म पुर्याए पनि उपाधि दिलाउन भने असफल भएका थिए ।

उत्कृष्ट डिफेन्डर रियल म्याड्रिडका कप्तान सर्जियो रामोश घोषित भए भने उत्कृष्ट मिडफिल्डर रियलकै लुका मोड्रिच घोषित भए ।