पाल्पा– पाल्पाको रामपुरस्थित सडकको किनारमा एउटा रुख छ, र त्यही रुखको छहारीमा छ एउटा सानो फलामे खोर। त्यो खोर कुनै जंगली जनावरका लागि होइन, न त कुनै पन्छीका लागि। त्यो खोरभित्र कैद छ एउटा ११ वर्षीय बालकको बाल्यकाल, उसका सपनाहरु र उसको खुसी। ती बालक हुन्, पवन कुमाल।


ADVERTISEMENT


साथीहरूसँगको हाँसोखुसी र किताबका पानाहरूमा भविष्य कोर्नुपर्ने उमेरमा पवनको संसार भने त्यही फलामे खोरको चार दिवारमा खुम्चिएको छ। विगत डेढ वर्षदेखि उनको दिन यही खोरबाट सुरु हुन्छ र यही खोरमा अन्त्य हुन्छ।


ADVERTISEMENT

# # #


उनी बोल्न सक्दैनन्, तर उनको आँखामा हजारौं शब्द छन्। बाटोमा हिँड्ने कसैलाई देख्यो भने उनको अनुहारमा एउटा निश्चल मुस्कान फुर्छ। हातले इशारा गर्दै आफूतिर बोलाउँछन्, मानौं भन्दैछन्, ‘एकछिन मसँग पनि बसिदेऊ न !’ यस्तो कारुणिक दृश्यले जो कोहीको पनि मन छियाँछियाँ बनाउँछ।

पवनलाई त्यो खोरको कैदबाट बाहिर निस्कन मन नभएको कहाँ हो र ! जब उनलाई खोरबाट बाहिर निकालिन्छ, उनको अनुहारमा छुट्टै चमक देखिन्छ। बाहिरी संसारमा स्वतन्त्र भएर रमाउन पाउँदा उनी संसारकै सबैभन्दा खुसी बालक देखिन्छन्।

तर शारीरिक र मानसिक अशक्तताका कारण उनको त्यो खुसी क्षणिक हुन्छ। उनको सुरक्षाको चिन्ताले उनलाई फेरि त्यही फलामको चार दिवारभित्र कैद गरिदिन्छ।

आँखाभरि आँसु र मनभरि पीडा बोकेर आमा पूर्णमाया कुमाल भन्छिन्, ‘आफूले जन्माएको छोरालाई यसरी खोरमा थुनेर राख्ने रहर कुन आमालाई होला र ? तर विवशताले जे पनि गराउँदो रहेछ।’

घरको कामधन्दा गर्नुपर्छ, बिहान–साँझको छाक टार्न अर्काको खेतबारीमा काम गर्न जानुपर्छ। आँखा छल्यो कि छोरो सडकतिर दौडिहाल्छ। सडक छेउको घर, गाडीको डरले सधैं मन त्रसित हुन्छ। त्यही दुर्घटनाबाट बचाउन, आफ्नो मुटुमा ढुङ्गा राखेर यो फलामको खोर बनाउनु परेको हो।’

यो खोर पवनको बाध्यता बनेको छ। गर्मीको प्रचण्ड घाममा फलाम तातेर आगोको डल्लो जस्तै बन्छ, अनि बर्खाको भेल र हुरीबतासमा जस्ताको छानो कतिबेला उडाउने हो, कुनै ठेगान छैन। तर पनि पवन त्यहीँभित्रबाट जीवनको खुसी खोजिरहेका छन्, बाटो हिँड्ने बटुवालाई हेरेर मुस्कुराइरहेका छन्।

पूर्णमायाका जुम्ल्याहा छोरा हुन्। कान्छो छोरा पविन कक्षा ६ मा पढ्छन्। एउटै कोखबाट जन्मेका दुई सन्तान, एकजना विद्यालयको आँगनमा भविष्य खोजिरहेको छ भने अर्को घरछेउको खोरमा आफ्नो वर्तमानसँग संघर्ष गरिरहेको छ। यो दृश्यले पूर्णमायाको मन कति पोल्दो हो !

परिवारले पवनको उपचारको लागि सकेको सबै गर्‍यो। बाबु कृष्णबहादुर विगत आठ वर्षदेखि छोराको उपचार र परिवारको पेट पाल्ने सपना बोकेर समुद्रपारि पसिना बगाइरहेका छन्।

छोराको खुट्टा र मुटुको शल्यक्रिया भइसकेको छ, तर चिकित्सकले मस्तिष्कको शल्यक्रिया गर्न जरुरी छ भनेका छन्। तर, आर्थिक अभावको पहाडले परिवारको सपनालाई थिचिदिएको छ।

कसैले छोरालाई खोरमा राखेको देख्दा गाली गर्छन्। पूर्णमाया भन्छिन्, ‘देख्नेलाई भन्दा भोग्नेलाई पीडा थाहा हुन्छ।’

आज पनि पवन त्यही खोरभित्रबाट बाहिरी संसारलाई नियालिरहेका छन्, आफ्नो नबुझिने भाषामा केही भन्न खोजिरहेका छन्।