काठमाडौँ – एनआइसी एशिया बैँकले आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गरेका ग्राहकहरुले वैशाखसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ ।


ADVERTISEMENT

# # #


यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैँकले जनाएको छ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहक महानुभावले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम नहुने बैँकको भनाई छ ।

यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ नै उपलब्ध हुनेहुँदा सम्पूर्ण ग्राहकहरुलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्नुहुन बैंकले अनुरोध समेत गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ग्राहकहरूले चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशतछुट प्रदान गरिसकेको छ । अन्य विभिन्न छुट तथा सहुलियतहरू प्रदान गरेको बैँकले जनाएको छ ।

बैंकले देशभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।