बाँके – बाँकेको नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा राखिएका १८१ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ देखिएको छ ।


ADVERTISEMENT


नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा गरिएको आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई आजै आआफ्नो घर फर्काउने स्थानीय प्रशासनले तयारी थालेको उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चन्दका अनुसार भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र उपमहानगरबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले करीब चार घण्टा लगाएर आरडिटी गरेको थियो । उनीहरु सबैको आरडिटी किटबाट परीक्षण गरिएको बताइएको छ । उनीहरुलाई १५ दिनअघि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएकाहरु सबै भारतबाट मजदूरी गरेर फर्किएका हुन् । पन्ध्रौँ दिनमा आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका नेपालीले आफूहरुमा कोरोना संक्रमण नरहेको र घर फर्किन पाउने भएकाले खुशी व्यक्त गरेका छन् ।

बाँकेबाट १५ जनाको स्वाब परीक्षणमा

कोहलपुर– नेपाल भारत सीमानाका जोडिएको बाँके जिल्लामा रहेका अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचारमा रहेका कोभिड –१९ शंकास्पद १५ व्यक्तिको ‘स्वाब’ संकलन गरी परीक्षणका लागि आज भैरहवा पठाइएको छ ।

भेरी अस्पतालबाट तीन, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट आठ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट चार जनाको ‘स्वाब’ परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हालसम्म बाँकेका विभिन्न अस्पताल र क्वारेन्टाइनबाट गरी २७९ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको नतिजा ‘नेगेटिभ’ आएको जानकारी दिइएको छ । ‘पिसिआर’ विधिबाट ७६ र ‘र्‍यापिड’ विधिबाट २०३ जनाको कोरोना परीक्षण गरिएको र सबैको नतिजा ‘नेगेटिभ’ आएको श्रेष्ठले बताए ।