रमेश लम्साल, काठमाडौँ – सर, म नेपाली नागरिक होइन र ? मलाई नागरिकता नभएको भन्दै राहत दिएनन् । मलाई भोक लाग्दैन र ? यो पीडा मिश्रित भनाइ हो कमानसिंह लामाको ।


ADVERTISEMENT


नुवाकोटको रानीपौवा घर भएका ५२ वर्षीय लामा विगत एक वर्षदेखि कीर्तिपुर नगरपालिका वडा नं ६ मा ज्यामी मजदूरी गर्दै आएका छन् । स्थानीय उपभोक्ता समितिले निर्माण गर्न लागेको सडकमा काम गर्न नुवाकोटबाट कीर्तिपुर पुगेका लामासँग नागरिकता छैन ।


ADVERTISEMENT

# # #


नागरिकता घरमै छाडेर आएको उनी बताउँछन् । मलाई नागरिकता नभएका कारण वडाले बाँडेको राहत पाउन सकिन । स्थानीय नागदह नजिकैको लप्सीबोटमा भेटिएका लामा आफूलाई वडा (स्थानीय सरकार)ले राहत नदिएर सौतिने व्यवहार गरेको बताउँछन् । लामासँग नाति उमेरको कुमार लामा पनि बस्छन् । कोरोना भाइरसको सङ्क्रमण फैलने डरले सरकारले ‘लकडाउन’ घोषणा गरेको पनि लामो समय भयो । काम नहुँदा खाने सामल सकियो लामाको ।

स्थानीय वडाले केही दिन खाना पकाएर खुवायो । व्यवस्थापन मिल्न नसकेको भन्दै खाना पकाउने काम पनि बन्द भयो । त्यसो त के कतिलाई खाना खुवाउने भन्ने स्पष्ट तथ्याङ्क नहुँदा सो कार्य बन्द भएको नागदह आसपासमा बस्ने दैनिक ज्यालादारी गर्ने श्रमिक बताउँछन् । स्थानीय समाजसेवीले सो क्षेत्र आसपासमा बस्नेलाई आफ्नै पहलमा गाँस काटेर भए पनि बचाइराखेका छन् । सधैँ उनीहरु पनि सेवा गर्न सक्ने अवस्थामा छैनन् ।

समस्यामा परेका दैनिक ज्यालादारी, श्रमिक तथा विद्यार्थीका लागि व्यवस्थापन गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको हो । उनीहरु पनि जिम्मेवार नदेखिएको स्थानीयवासी गुनासो छ । स्थानीय तहले भने आफूहरु निरन्तर व्यवस्थापनमा लागिपरेको बताउँदै आएको छ ।

“दाल, चामल भए हुन्थ्यो । नून त एक महिनालाई पुग्नेछ ।” उनी भन्छन्, “ज्यामी काम गरेर कमाएको पैसा ‘लकडाउन’ हुनुभन्दा पहिल्यै घर पठाए । अहिले पैसा पनि छैन, खाने सामल पनि छैन ।” उनीसँगै आश्रय लिएका कुमार पनि आफूहरुलाई केही चामल पाएहुन्थ्यो जस्तो लागेको बताउँछन् । सोह्र वर्षका लामा पनि कमानसिंहसँगै ज्याबेल चलाउन आएका हुन् ।

यस्तै फिरोज मिया पर्सा नग्वाबाट काठमाडौँ आएका हुन् । मिस्त्रीको काम गर्न आएका मियाको परिवारमा चार जना छन् । दश महिनाको छोरी पनि छ । लकडाउनका कारण दैनिक गर्दै आएको काम रोकिएपछि के खाने भन्ने चिन्ताले सताएको छ । रु चार हजार भाडा तिरेर हिमाल सिमेन्टको कारखाना नजिकै बस्दै आएका मियालाई पनि अरु सहयोग नभए पनि खाने चामल र दाल भए हुन्थ्यो भन्ने लागेको छ । ऋण धन गरेर भए पनि बस्ने इच्छा भए पनि सबैतिर उस्तै समस्या रहेकाले कसले आफूलाई सहयोग गर्ला र भन्ने चिन्ताले सताएको छ उनलाई । “घर जान मन थियो, सवारी साधन चलेका छैनन, यी लाला बाबा भोकै पर्लान् कि भन्ने ठूलो चिन्ता छ, केही सहयोग पाइन्छ र सर”, मियाले भए ।

पर्साकै दीपेन्द्र कुमाल पनि पाँच जनाको परिवारका साथमा सोही स्थानमा बस्दै आएका छन् । आठ, छ र चार वर्षका तीन वटा बच्चा छन् । “भोक लाग्यो भन्छन्, हामीले कही कतैबाट सहयोग पाएनौँ । कि त हामीलाई घर जाने वातावरण बनाइदिनुपर्यो होइन भने केही खाने सामल उपलब्ध गराइदिनुपर्यो”, उनी पीडा पोख्छन् । स्थानीय वडाबाट राहत नपाएको बताउँदै उनी समाजसेवी महिला समूहले भने आफूहरुलाई पाँच किलो चामल, दाललगायतका सामग्री उपलब्ध गराएको बताउँछन् । उनले राहत दिने महिला समूहलाई भने धन्यवाद दिए ।

यस्तै भारतको मोतीहारीका साहिल मिया पनि उनीहरुसँगै बस्छन् । विपद्को समयमा सबै नागरिकलाई सेवा र सुरक्षा प्रदान गर्नुपर्ने भए पनि आफूले कुनै राहत नपाएको गुनासो गरे। एक वर्षको बच्चा र श्रीमतीसहित बस्दै आएका मियाको परिवारलाई स्थानीय समाजसेवी मनोज रानालगायतले केही राहत उठाएर दिएका छन् ।

स्थानीय समाजसेवी राना समस्यामा परेका, दैनिक ज्यालादारी गर्ने श्रमिकलाई आफूहरुले पहल गरेर केही राहत दिए पनि त्यो पुग्दो नभएको बताउँछन् । स्थानीय महिला समूह तथा समाजसेवीको पहलमा राहत दिइए पनि कोही सहृदयी मनले राहत प्रदान गर्ने इच्छा राखेको र त्यसको आफूहरुले सहजीकरण गरिदिएको उनी बताउँछन् ।

नागरिकता नभएका तथा कुनै परिचयपत्र नभएका नागरिकले राहत नपाएको र राहत वितरणमा विभेद गरेको गुनासो आइरहेका बेला कीर्तिपुर नगरपालिका– ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन भने आफूहरुले सबैलाई राहत प्रदान गरेको बताउँछन् ।

उनी भन्छन्, “हामीले नागरिकता नभएकालाई पनि राहत दिएका छौँ । कोही कसैले राहत नपाएको भए वडा कार्यालयमा सम्पर्क गर्न म आग्रह गर्दछु ।” वडाअध्यक्ष महर्जन कोही कसैले पनि वडाभित्र भोकै बस्नु नपरोस् भनेर लागिपरेको बताउँछन् । कोही समस्यामा परेको भए आफूलाई सोझै सम्पर्कसमेत गर्न उनको आग्रह छ । रासस