काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गरेको गतिविधि र दिएको अभिब्यक्ति लज्जाजनक भएको बताएका छन् ।


ADVERTISEMENT


नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँले विदेशमा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु भएको छ । यो कस्का लागि र कस्लाई खुसी पार्न गरिएको हो’


ADVERTISEMENT

# # #


ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढ‌ंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएको भन्दै त्यसलाई लज्जाको विषय बताएका हुन् । ‘उहाँ देशको प्रधानमन्त्री, यही संविधानको शपथ लिनु भएको छ, त्यही संविधानअन्तर्गत उहाँ प्रधानमन्त्री हुनुभएको छ’ उनले भने, ‘त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले असान्दर्भिक ढ‌ंगले उठाउनु भएको छ । एकदमै असान्दर्भिक ढ‌ंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।’

उनले आफूले कटु शब्द प्रयोग नगरौं भन्दा पनि राम्रो शब्द प्रयोग गर्ने ठाउँ नै नदिएको समेत उल्लेख गरे । साथै भर्खरै संविधान संशोधनको विषयमा नेपालको संसदले गरेको फैसलालाई प्रधानमन्त्रीले विदेशमा गएर धज्जी उडाएको समेत दाबी गरे ।
‘नेपालको संसदले, उहाँ आफै सरिक भएर गरेको निर्णयलाई उहाँले विदेशमा पुगेर धज्जी उडाउनु भएको छ’ ओलीले जोडे, ‘उहाँले गिड्गिडाएर क्षमा याचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले सकिनँ कोसिस गरेथें, प्रभु मलाई सक्ने बनाइदेउ भन्ने ढ‌ंगको उहाँको हाउभाउ र अभिब्यक्ति देखिन्छ ।’

प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोसिस जारी रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि फेरि प्रयास गरिने उल्लेख गरेका थिए ।

यसअघि सोमबार संसदमा संविधान संशोधन बिधेयकमाथि मतविभाजन हुँदा बहुमत संख्या विधेयकको पक्षमा रहे पनि दुई तिहाई बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।