काठमाडौँ – सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित अन्य प्रतिपक्षी दलले सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाई तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


काँग्रेसको आग्रहमा आज सो दलसहित राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले सोमबार जारी गरिएको संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेशले नेपालको संविधानको मूल मर्ममा आक्रमण गरेको निष्कर्ष निकाल्दै संसद् बैठक बोलाउन माग गरेका हुन् ।
कोरोना सङ्क्रमणको कारण देश लकडाउनका अवस्थामा रहेका बेला जारी गरिएका ती अध्यादेशले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरेको बैठकले आरोप लगाएको छ । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संयुक्त विज्ञप्ति जारी गरी दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।


ADVERTISEMENT

# # #


बैठकले लकडाउनका अवस्थामा जनता खाद्यान्नलगायत न्यूनतम आवश्यकताबाट विस्तारै वञ्चित हुँदै गएकामा चिन्ता व्यक्त गरेको छ । साथै राहत, उद्धार र कोरोना सङ्क्रमणका सम्भावितलाई दु्रत गतिमा जाँच गर्न र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकले राजनीतिक दल, नागरिक समाज र आमनेपालीमा सरकारको उक्त कदमप्रति थप चनाखो भई सचेत र जागरुक हुन अपिल गर्दै सङ्घीय संसद् बाहिर रहेका राजनीतिक दल र नागरिक समाजसँग पनि थप अन्तक्रिया र छलफल गर्ने निर्णय गरेको छ । “हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको यस कार्यविरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने यो बैठक निर्णय गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा काँग्रेसकाबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारी, समाजवादी पार्टीका तर्फबाट यादव तथा नेता डा बाबुराम भट्टराई, , अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबा राणा उपस्थित थिए । रासस