काठमाडौं –  सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको योगदान रकम कोषमा दाखिला तथा चैत महिनाको तलब नियमितरुपमा भुक्तानी गरेको विवरण पेश गरेपछि मात्र चैत महिनाको योगदान रकम जम्मा हुने कोषले जनाएको छ ।


ADVERTISEMENT


लकडाउनको अवधिमा पनि करिब चार हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन् । बुधबारसम्म कोषमा १२ हजार ३३० रोजगारदाता र एक लाख ५७ हजार योगदानकर्ता सूचीकृत भइसकेका छन् । यसैगरी गत साउनदेखि कोषमा योगदान गर्न सुरु भएकामा हालसम्म ८६१ रोजगारदाताका ३३ हजार ३२७ श्रमिकले रु ९० करोड ५६ लाख योगदान रकम जम्मा भइसकेको छ ।


ADVERTISEMENT

# # #


सरकारले लकडाउनका कारण प्रभावित भएका औपचारिक क्षेत्रका श्रमिकको चैत महिनाको कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिक र २९ प्रतिशत रोजगारदाताको तर्फबाट हुन आउने रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । सरकारको सोही निर्णयसँगै फागुनसम्म नियमित योगदान गर्दै आएका रोजगारदाता र श्रमिकको चैत महिनाको योगदानबापत रु १८ करोड ६७ हजार प्राप्त भइसकेको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिए ।