रमेश लम्साल, काठमाडौँ – कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई लकडाउनको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेको छ ।


ADVERTISEMENT


रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बर्दीबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा पर्ने ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानी तथा नेपाली निर्माण व्यवसायीले लकडाउनको समयमा समेत काम जारी राख्नुलार्ई महानिर्देशक मिश्र खुसी व्यक्त गर्छन् । उनले भने, “सामाजिक दुरी कायम गरेर निर्माण स्थलमा काम भइरहेको छ । विभागले स्थानीय प्रशासन र निर्माण व्यवसायीसँग पनि आवश्यक सहजीकरण गरिरहेको छ ।


ADVERTISEMENT

# # #


सरकारले तोकेको सामाजिक दुरी तथा सुरक्षाका सम्पूर्ण व्यवस्था गरी काम भइरहेको छ । रेलमार्गका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा निर्माण व्यवसायीले अपेक्षित श्रमिक परिचालन गरेका छन् । “लकडाउन हुनुअघिदेखि नै कार्यस्थलमा मजदुर तथा मेशिन तयारी अवस्थामा थिए, उनीहरुलाई परिचालन गरेर काम भइरहेको छ”, महानिर्देशक मिश्रले भने । निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्रयाक निर्माणकार्य लकडाउन अघि पनि गतिमा नै रहेको थियो । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । त्यस्तै, धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्रयाक र पुल निर्माणको काम गरिरहेका छन् ।

महानिर्देशक मिश्रका अनुसार सरकारले लकडाउनका समेत सामाजिक दुरी कायम गरेर विकास निर्माणको काम गर्न गत चैत २० गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट स्वीकृति लिएर काम भइरहेको र त्यसमा विभागले निर्माण व्यवसायीसँग आवश्यक सहजीकरण गरिरहेको छ । विभागका अनुसार जनकपुर–विजपुरा खण्डमा समेत रेल्वे ट्रयाकको काम लकडाउनको नियमलाई अक्षरशः पालना गर्दै भइरहेको छ । सो खण्डमा हाल ७० कामदार परिचालित छन् ।सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्रयाक निर्माण भइरहेको छ । लकडाउनले अपेक्षित गति नलिएको भएपनि काम भने निरन्तर जारी छ ।

बन्दबन्दीमा पनि सर्लाहीमा पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा धमाधम निर्माणको काम भइरहेको विभागको भनाइ छ । श्रमिकले काम गर्दा आपसमा सामाजिक दूरी कायम गरेको र बाहिरी मानिससँग कुनै पनि सम्पर्क राखेका छैनन् ।

निर्माण स्थलमा निर्माण सामग्री पनि रहेको र उपकरण तथा जनशक्ति समेत रहेकाले काम गर्न सहज भएको महानिर्देशक मिश्रको भनाइ छ । स्थानीय बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी काम भइरहेको छ । काममा खटिएका श्रमिकले रेलमार्ग निर्माणको कामका अलावा निर्माण सामग्रीको समेत सुरक्षा गरिरहेका छन् । कोरोनाको जोखिमलाई ध्यानमा दिँदै काम भइरहेकाले वर्षा अगाडि रेलमार्गलाई एउटा आकारमा ल्याउन सकिने महानिर्देशक मिश्रको भनाइ छ ।

स्थानीय धन्सारदेखि वाग्मतीसम्म करीब २३ किलोमिटरमा ट्रयाक निर्माणले यसअघि नै गति लिएको थियो । सो स्थानमा जङ्गल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयले समेत आवश्यक सहजीकरण गरिदिएका थिए । रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटको भनाइ छ । त्यस खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी ६ पुल बनाउनुपर्नेछ । तोकिएको कार्यतालिका अनुसार साढे दुई वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीलाई करीब रु तीन अर्ब २५ करोडमा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको थियो । रासस