ललितपुर । राष्टिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सचेतना बाँड्दै वृहत रक्तदान गरेको छ ।
नयाँ वर्षको शुभकामनाका साथै कोरोना भाइरससम्बन्धी सचेतना जगाउँदै रक्तदान गरिएको आयोजकले जनाएको छ । शनिबार इमाडोलको कृष्ण मन्दिरमा भएको कार्यक्रममा १ सय ७२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष नकुल थापा, स्थानीयहरु नविन तण्डुकार, धनकुमार मैनालीलगायतको विशेष भूमिका रहेको थियो । प्रतिनिधिसभाका नेकपा सांसद कृष्णलाल महर्जनको प्रमुख आतिथ्यता, मेयर श्रेष्ठ, बागमति प्रदेश सभाका नेकपा सांसद माधव पौडेल, बागमति प्रदेशसभाका सहकारी विभाग प्रमुख शिवप्रसाद कट्टेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको आयोजकले जनाएको छ ।
मानिसहरु रगतको अभावमा कहिलेकाही समस्यामा परेको भन्दै यो असहज अवस्थाका बीच पनि रक्तदान गरिएको आयोजकको भनाई छ । आयोजकले रक्तदान गर्ने, आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने, स्वयम्सेवीको भूमिका खेल्ने लगायतलाई विशेष धन्यवाद दिँदै आभार व्यक्त गरेको छ ।