काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।


ADVERTISEMENT


राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको टोली आयोग पुगेर दल दर्ता गराएको हो। ठाकुरसँगै अध्यक्ष मण्डलका राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी पनि थिए।


ADVERTISEMENT

# # #


‘प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि हामीले दल दर्ता गरेका हौं। यो निर्वाचनलाई हामीले चुनौतीको रुपमा स्वीकार गरेका छौं। हामी सडक,सदन र निर्वाचनको मोर्चालाई एकै साथ लैजाने छौ’ अध्यक्ष मण्डलका महतोले भने।

संविधान संशोधनका लागि जनताको मतः

संविधान संशोधनका लागि मत नपुगेकाले अब आवश्यक मत जनताले नै दिनुपर्ने महतोको आग्रह छ। ‘जनताको लागि संविधान संशोधन गर्न हामी अब जनताकै घरमा जादैछौं। संशोधन जसलाई चाहिएको छ उसले हामीलाई मत दिन्छ,’ उनले भने।

दुई तिहाई बहमुत नपुगेपछि संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको थियो। विधेयक अस्वीकृत भएपनि राजनीतिक रुपमा आफ्ना एजेण्डा स्थापित भएको निष्कर्ष निकाल्दै राजपाले निर्वाचनमा जाने निर्णय गरेको हो।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा चुनाव चिह्न छाता नै हुने महतोले दाबी गरे। ‘हामीले यस विषयमा आयोगसँग छलफल गरिसकेका छौं,’ उनले भने,‘स्थानीय तहको निर्वाचनमा नमिलेपनि प्रनितिधि र प्रदेश सभाकोमा छाता चिह्न हामीले पाउनेछौं।’

असोज २ गते हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनमा भने चुनाव चिह्न साइकल हुने उनले बताए। गठन भएकै दिनदेखि राजपाले पार्टीको चुनाव चिह्न छाता रहने घोषणा गरेको थियो। विवादित रहेको भन्दै छाता नपाएको भए पनि अब विवाद मिलेकाले आफूले नै पाउने राजपाको भनाइ छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न भदौ ११ गते आइतबारसम्म समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।