काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय भने हुन सकेन ।


ADVERTISEMENT


बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र पार्टीको स्थायी कमिटीको बैठकको मागका बारेमा कुरा भएको बताए । उनका अनुसार सचिवालयको अर्को बैठक २० गते (शनिबार) बोलाइएको छ ।


ADVERTISEMENT

# # #


उक्त बैठकले नै सरकार र पार्टीका विषयमा पछिल्लो समय देखिएका विविध विषयबारे छलफल गर्ने बताए ।  पार्टी नेतृत्वको टिमले गृहकार्य अघि बढाएको बताउँदै प्रवक्ता श्रेष्ठले आवश्यक निर्णय आगामी बैठकले तय गर्ने जानकारी दिए ।

उनले भने, ‘सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने, जनताले दिएको जनादेश अनुसार सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने छ र आवश्यक प्रस्तावहरु तयार गर्नेछ ।’

पछिल्लो समय सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि चर्किएको नेकपाको विवाद अध्यादेश फिर्ता भए पनि मत्थर हुन सकेको छैन । कतिपय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।