काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित कोरोना व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हालसम्म सवा दुई लाख नेपाली कामदार स्वदेश फर्काउने  अवस्था उत्पन्न भएको बताएको छ । समितिका संयोजक रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बुधबारसम्म २ लाख १८ हजार नेपालीलाई घर फर्काउने अवस्था आंकलन गरिएको बताए । खाडीका ६ मुलुक र मलेसियामा गरी करिब २१ लाख नेपाली रहेको अनुमान गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिए ।


ADVERTISEMENT


वैदेशिक रोजगार पत्रकार समाजले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा महानिर्देशक दाहालले उनीहरुलाई स्वदेश फर्काउन भन्दा पनि नेपाल आइसकेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखी परिवारमा पुनर्मिलन गराउने काम सबैभन्दा पेचिलो रहेको भन्दै उनीहरुलाई नेपाल ल्याइने भएपनि तत्काल फर्काउने निर्णय नगरिएको बताए ।


ADVERTISEMENT

# # #


नेपाल सरकारले विश्वका १ सय ८ देशमा रोजगारीमा जान नेपाली नागरिकहरुलाई खुला गरेको छ । त्यसमध्ये विभागले संस्थागत रुपमा जाने १ सय ४ मुलुक र व्यक्तिगत रुपमा १ सय ७६ मुलुकमा जाने कामदारका लागि श्रम स्वीकृति दिने गरेको छ । त्यसमध्ये हाल यूएई, बहराइन, साउदी अरब र कुवेतमा रोजगारीमा गएका नेपाली कामदार कारोना भाइरसबाट बढी प्रभावित भएको आफुहरुको अध्ययनले देखाएको भन्दै महानिर्देशक दाहालले स्थिति अनुकुल हुनासाथ विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउने बताए ।

विदेशमा रहेका नेपालीहरुको अवस्थाका बारेमा नेपाली नियोगहरु, गैर आवासीय नेपाली संघ सस्था र स्वयं कामदारहरुबाट जानकारी लिइरहेको जानकारी दिँदै महानिर्देशक दाहालले साउदी अरबबाट ३० जना कामदारहरुले देखाएको खाने बस्ने समस्याबाहेक हालसम्म अन्य देशबाट गम्भीर समस्या जानकारीमा नआएको बताए ।

तत्काल उद्धार गरिहाल्नुपर्ने, जहाँ छन् त्यहीँ सुरक्षित राख्ने र रोजगारी गुमाउने कामदारलाई सोही देशमा रोजगारी खोजेर व्यवस्थापन गर्ने जस्ता प्रक्रिया अपनाएर विदेशमा रहेका नेपालीका समस्याहरुलाई वर्गिकरण गरिएको भन्दै महानिर्देशक दाहालले नेपालबाट श्रम स्वीकृति लिएर गएका तर लकडाउनका कारण कम्पनीमा पुग्न नसकेका कामदारहरुको संख्या २० हजारको हाराहारीमा रहेको पाइएको जानकारी दिए ।

कोरोनाका कारण समस्यामा परी रोजगारी गुमाएर घर फर्किने कामदारहरुले पहिले जस्तो क्षतिपूर्तिको माग गर्दै विभागमा उजुरी दिन नपाउने बताउँदै महानिर्देशक दाहालले कामदारहरुलाई फर्काउदा स्वास्थ्य परीक्षणका अतिरिक्त घर फर्किने ईच्छापत्र जस्तो स्वीकृतिपत्रमा हस्ताक्षर गराउने कार्यविधि बनाउने गृहकार्य भइरहेको जानकारी दिए । तर कोरोना संक्रमणको महामारी फैलिनु अघि पाउनुपर्ने तलव लगायतका सुविधा नपाएको देखिएमा भने उजुरी लिई कानून अनुसार छानवीन गरिने महानिर्देशक दाहालले जानकारी दिए ।

आप्रवासी कामदारका अधिकारको पक्षमा काम गर्दै आएको मानव अधिकारका लागि जनमञ्च ९पिपुल्स फोरम० का अधिवक्ता सोम लुइटेलले सरकारले लकडाउनको अवधिमा नै विदेशमा समस्यामा परेका कामदारलाई उद्धार गर्न सक्नुपर्ने सुझाव दिए । अधिवक्ता लुइटेल संलग्न रहेको पिपुल्स फोरमले विभिन्न देशमा रोजगारी गुमाएका नेपाली कामदारहरुलाई उद्धारको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रीटमा अदालतले कोरोना भाइरस (कोभिड–१९) को कारण रोजगारी गुमाउने तथा ज्यान जोखिममा पर्ने अवस्थामा रहेकालाई नेपालमा रहेका नागरिकहरुको स्वास्थ्यको उचित प्रवन्ध गरी उद्धार गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशको उद्देश्य विदेशमा रहेका सबैलाई तत्काल फिर्ता ल्याउने नभई रोजगारी गुमाई समस्यामा परेकाहरुलाई उद्धार गर्ने रहेकोले विदेश जाने कामदारको योगदनका आधारमा बनेको वैदेशिक रोजगार कल्याणकारी कोष परिचालन गरेर कामदारहरुलाई घर फर्काउनुपर्ने माग गरे । उनले वैदेशिक रोजगार बोर्ड मातहत रहेको कोषका अतिरिक्त कोभिड पीडित कामदारको उद्धारका लागि छुट्टै कोष बनाउन पनि आवश्यक रहेको औंल्याए ।

विदेशमा रहेका कामदारहरुको अवस्था बुझ्न नागरिक समाज, ट्रेड यूनियन प्रतिनिधि सञ्चारकर्मी र सरकारी प्रतिनिधि रहेको उच्चस्तरीय संयुक्त संयन्त्र बनाएमा उद्धार तथा राहतमा सहजता हुने भन्दै अधिवक्ता लुइटेलले त्यसतर्फ सोच्न सरकारको ध्यानाकर्षण गरे ।

ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले खाडी र मलेसियामा रोजगारीमा गएकामात्र नभई भारत गएका कामदारहरुप्रति पनि सरकारको ध्यान जानुपर्ने भन्दै सरकारले आफ्ना निर्णयहरुका आधारमा विदेशमा रहेका नेपालीहरुलाई संकटको घडमिा सरकार छ भन्ने प्रत्यभुत गर्न सकनुपर्ने धारणा राखे ।

रोजगारीका लागि विदेश गएका कामदारहरुलाई वैधानिक वा अवैधानिक भनेर विभेद र वर्गिकरण गर्नु अन्याय हुने भन्दै बस्नेतले विदेशमा रहेका सबैलाई विना भेदभाव उद्धार गर्नुपर्ने माग गरे ।

आप्रवासी कामदारहरुका लागि काम गर्ने अर्को संस्था एशिएन फोरमका निलम्बर बरालले विदेशमा रहेका कोरोना पीडित नेपालीहरका लागि सरकारले गरिरहेका कामहरु सकारात्मक भएपनि कामदारहरुले महसुस गर्ने तहमा पर्याप्त नरहेको भन्दै राहत र उद्धारका कामलाई एकीकृती गर्न जरुरी रहेको बताए ।

विदेशमा रहेका कामदारहरुलाई तत्काल फर्काउनु नेपालका लागि जोखिमपूर्ण हुने भन्दै अधिकारकर्मी बरालले नेपाल फर्काउनु अघि सुरक्षित रुपमा घर पुर्‍याउने प्रवन्ध गरिनुपर्नेमा जोड दिए । पत्रकार समाजका सल्लाहकार एवं नागरिक दैनिकका पत्रकार रुद्र खड्काले सञ्चालन गरेको कार्यक्रममा करिब डेढ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

कोरोना भाइरस संक्रमणले लकडाउन निम्याएपछि समाजले भिडियो कन्फरेन्स मार्फत सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याई अन्तरक्रिया गर्दै आएको छ । बुधवारसम्म चार वटा कार्यक्रम गरिसकेको समाजले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारमा समस्यामा रहेका नेपाली कामदाहरुलाई राहत तथा उद्धारका लागि नियमित रुपमा अन्तरक्रिया कार्यक्रम जारी राख्ने बताएको छ ।