रमेश गिरी, भक्तपुर – गोठभरी गाई छन् तर दैनिक खुवाउने दाना र भुसा छैन । गोठमा भएका गाई भोकले ड्वाँड्वाँ गर्छ, न दाना छ, न दूधको बजार । पशुपालक किसानलाई यतिखेर रुनु न हाँस्नु भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान निकै पीडामा हुन् ।


ADVERTISEMENT


कोरोना प्रभावका कारण पशुलाई खुवाउने दानादेखि पशुआहारको अभाव र दूध बिक्री नहुँदा किसान दोहोरो मारमा परेका छन् । दूध उत्पादनका लागि घरमा केही गाई पाल्ने साना किसानभन्दा पनि करोडौँ खर्चेर व्यावसायिकरूपमा गोठ (फार्म) सञ्चालन गरेर गाई पाल्ने किसानलाई यतिखेर गाई पाल्नु न छाड्नु भएको छ ।


ADVERTISEMENT

# # #


चाँगुनारायण नगरपालिका–२ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले ठूला व्यावसायिक पशुपालकहरु यतिखेर निकै मारमा परेको बताउँछन्। नेपाल डेरी फार्मस् एशोसिएशनका अध्यक्षसमेत रहेका पन्तको झौखेलस्थित गोठमा ८८ उन्नत जातका गाई छन् तर गोठमा गाईलाई खुवाउने कुरा नभएपछि बचाउन मुस्किल छ ।

लकडाउनका कारण आवश्यक दाना, दाना उत्पादन गर्ने कच्चा पदार्थ र भुसा आयात नभएपछि उपत्यकाका अधिकांश पशुपालक व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ । एशोसिएशनका अध्यक्ष पन्त भन्छन्, “खुवाउने कुरा नै नभएपछि दूध उत्पादन पनि घटाएका छौँ, उत्पादन भएको दूध पनि बिक्री गर्न सकेका छैनौँ, सबै दूधको पनिर, घ्यू बनाउन उद्योग नै चाहिन्छ, फार्ममा सम्भव हुन्न, हामी किसान निकै मर्कामा पर्‍यौँ।”

आफ्नो गोठका गाईबाट ६०० देखि ७०० र अन्य साना किसानबाट उठाउने करिब ३०० गरी दैनिक ९०० लिटर दूध बिक्री गर्दै आएका पन्तले लकडाउनपछि साना किसानको दूध लिन छाडेका छन् भने आफ्ना गोठमा पनि दूध उत्पादन घटाएर २०० लिटरमा झारेका छन् । उनले भने, “एकातिर खानेकुरा नभएर दूध घटेको छ, अर्कोतिर दूध बिक्री गर्ने ठाउँ नभएपछि उत्पादन नै घटाएका छौँ ।”

सुन्दरीजलका बाबुराम कार्कीको पीडा उस्तै छ । गोठमा २८० उन्नतजातका गाई छन् । तर खानेकुरा नहुँदा नून र पानी खुवाएर बचाउनुपरेको छ । उनका अनुसार लकडाउनपछि सर्लाही, बारा, पर्सा र रौतहटबाट आउने भुसा आउन छाडेको छ । दाना उद्योग बन्द छन् । अलिअलि दाना र घाँस पाइए पनि निकै महङ्गो छ, न औषधि छ, न प्राविधिक छन् । उपत्यकामा चरन क्षेत्र छैन । भोकले गाई कराएको सुन्दा मन भारी हुन्छ । आँखा रसाउँछ ।

आफ्नो पीडा सुनाउँदै उनी भन्छन्, “यस्तै अवस्था रहे अब पलायन हुनुको विकल्प छैन । गाईलाई नुनपानी मात्रै खुवाएर कहिल्यसम्म बचाउनु, कम्तीमा दाना र भुसा मात्रै आउन सकेको भए पनि गोठका गाई भोकै त हुँदैनथेँ ।” ऋणको साँवा ब्याज कसरी तिर्नेभन्दा पनि गाई कसरी बचाउने भन्ने चिन्ताले निकै पिरोल्छ उनलाई । दैनिक १ हजार ५०० लिटर दूध बिक्री गर्दै आएका कार्कीले अहिले कतिपय गाईले दूध दिनै छाडेको र कतिपयले थोरै दूध दिने गरेको बताउउँछन्।

कतिपय मिठाइ पसल र होटल बन्द भएपछि बजारमा दूध खपत हुन छाडेको छ । चाँगुनारायण–९ ताथलीमा ३५ गाईसहित बाख्रापालन गर्दै आएका एशोसिएशनका सचिव भानु पराजुलीको गुनासो पनि उस्तै छ । दैनिक २०० लिटर दूध उत्पादन गर्दै आएको उनी भने उत्पादित दूधलाई घरघरमा बिक्री गरिरहेको भए पनि गाईलाई खुवाउने कुरा नहुँदा सास्ती खेप्नुपरेको बताउँछन् । आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउँदै यस्तै अवस्था रहे उपत्यकाबाट व्यावसायिक गाई पाल्नेहरु पलायन हुने बताउँछन् ।

उपत्यकामा अहिले कम्तीमा ३० व्यावसायिक गाईफार्म र सयौँको घरमा साना किसानले गाई पालिरहेका छन् भने दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध होटल, मिठाइ पसल, चिया पसल र घरहरुमा खपत हुँदै आएको व्यवसायी बताउँछन् ।

एशोसिएशनका अध्यक्ष पन्त कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, कृषि विभाग, अर्थ मन्त्रालय र योजना आयोगसम्म पुगेर २३ बुँदे माग राख्दा पनि सुनुवाइ नभएको बताउँछन् । एशोसिएशनले बैंकहरुबाट लिएको ऋणको ब्याज दुई, कृषि उपज प्रशोधनमा पाँच र बिक्री वितरणतर्फ सात प्रतिशत कायम हुनुपर्ने, साँवा भुक्तानीको समय पछाडि सार्ने, सहुलीयत ऋण प्रवाह गर्नुपर्ने, कर्जाको सीमा रकम अधिकतम रु १० करोड पु¥याउनुपर्ने र कर्जा भुक्तानी १५ वर्षको हुनुपर्ने माग राखेको छ ।

त्यसैगरी किसानको उत्पादन बिक्रीमा समस्या भए २५ प्रतिशत मुनाफामा सरकारले खरिद गर्नुपर्ने, विभिन्न औजार एवं एक सवारी साधन खरिदमा एक प्रतिशत मात्रै कर लाग्नुपर्ने, जस्तोसुकै अवस्थामा पनि सहज पशु आहारको आयात हुनुपर्ने, स्वदेशी उत्पादनमा सहुलियत दिनुपर्ने, कृषक मेसेरेनरी सामानमा ७५ प्रतिशत अनुदान दिनुपर्ने, गाईगोठ निर्माणमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्नेलगायत माग राखिएको अध्यक्ष पन्तले जानकारी दिए ।