काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, विपन्न परिवारलगायतलाई खाना खुवाइएको वडाध्यक्ष नवराज भट्टराईले बताए ।


ADVERTISEMENT


दैनिक दुई हजार जनाका लागि खाना तयार गरेर स्वयंसेवकको सहयोगमा पोको पारी वडा नं १० का विभिन्न स्थानमा रहेका वितरणस्थलसम्म लैजाने काम भइरहेको बताइएको छ । निःशुल्क खाना खुवाउन स्थानीय समाजसेवी, उद्यमी, व्यापारी, महिला समूहलगायतले सहयोग गरेको समाजसेवी विद्या सुवेदी(विना)ले बताइन् । बूढानीलकण्ठ– १० ले शुरु गरेको सो अभियानमा दैनिक २५ भन्दा बढी स्वयंसेवक परिचालित छन् ।


ADVERTISEMENT

# # #


दैनिक चार सय केजी चामल, ६० केजी गेडागुडी, एक बोरा आलु तथा सय केजीसम्म तरकारी उपयोग हुँदै आएको जनाइएको छ । वडाका विभिन्न क्षेत्रबाट आएको मागका आधारमा १० स्थानबाट निःशुल्क खाना वितरण हुँदै आएको हो । त्यस्तै नगरपालिकास्थित सिद्धेश्वरी लोकसाधनाले दैनिक २५० स्वास्थ्य तथा सुरक्षाकर्मीलाई दिवा खाजा खुवाउँदै आएको छ ।

यसैगरी बूढानीलकण्ठ ७ हात्तीगौँडास्थित छहारी संस्थाले लकडाउनका कारण खाना समस्यामा परेका एक हजार मानिसलाई खाना खुवाउँदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, एकल महिला, जेष्ठ नागरिकलगायतलाई निःशुल्क खाना खुवाइँदै आएको संस्थाका अध्यक्ष लिली थापाले बताए।

बूढानीलकण्ठ– १ देखि ९ सम्मका विपन्न परिवारलाई छहारीले बेलुका निःशुल्क खाना खुवाउँदै आएको छ । रासस