काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गरेकी छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम डा गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो । डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन् । डा गौतम वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्नेछन् । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले कार्यभार सम्हानेछन्। तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हालेका थिए ।