काठमाडौँ – कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए । उनले भने, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।”


ADVERTISEMENT

# # #


केही समयअघि मात्रै भरतपुर महानगरपालिका—१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।

हात्ती मर्यो

चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेको टाइगर इकोलोजी परियोजनाले ल्याएको हात्ती आज बिहान मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको अन्दाजी ७० वर्षको कृतिकली मरेको हो ।

कोषका प्रमुख रामकुमार अर्यालका अनुसार विसं २०३० मा तराईबाट ल्याएको सो हात्ती उमरे हदकै कारण मरेको देखिएको छ । पछिल्लो समय बिरामी परेको सो हात्ती बिहान मृतावस्थामा भेटिएको हो । हात्तीलाई पशु चिकित्सकद्वारा परीक्षण गरी गाडिएको छ ।