काठमाडौं – कोरोना भाइरसको कारण वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने चर्को दवाब रहेपनि पूर्व तयारी विना फर्काइए नेपालमा समस्या थप विकराल हुने पाकिस्तानको पछिल्लो घटनाले देखाएको छ ।


ADVERTISEMENT


पाकिस्तानले प्रत्येक उडानका यात्रुमध्ये घटीमा १२ र बढीमा ५० प्रतिशतसम्म संक्रमित रहेको बताएको छ । सांगुरा कोठामा धेरै कामदार एकैठाउँमा बस्नुपर्ने बाध्यताले संक्रमण बढेको आशंका गरिएको छ । बुधबारसम्म पाकिस्तानमा २२ हजार ५ सय ५० संक्रमित देखिएका छन् भने ५ सय २६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यूएई सरकार र त्यहाँ रहेका पाकिस्तानी नागरिकहरुको चर्को दवाबपछि पाकिस्तानले गत महिनादेखि यूएईबाट आफ्ना नागरिक फर्काउन थालेको हो । तर फर्काइएका कामदारमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । जसका कारण पछिल्ला दिनमा पाकिस्तान दक्षिण एशियामै तीव्र रुपमा कोरोना संक्रमण फैलिने देशका रुपमा अगाडि आएको छ ।

फर्काइएका कामदारहरु व्यापक मात्रामा कोरोना पोजेटिभ देखिएपछि पाकिस्तानले मंगलबार कामदारहरुको बासस्थानका विषयमा यूएई सरकारसँग चासो देखाएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले यूएईबाट पर्किएका कामदारहरुको संत्रमित सख्या सोचिएभन्दा धेरै माथि रहेको बताएको छ ।