काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने छिन् ।
त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो। तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो ।
संसदको बजेट अधिवेशन शुक्रवारबाट शुरु हुँदैछ । संसद बैठकमा सहभागी हुन सांसदहरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ।
२ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको समयको टुङ्गो त्यसै अनुसार लगाउने तयारी छ। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ । संसदीय सचिवालयले त्यसै अनुसारको संसद प्रवेशको मापदण्ड बनाएको छ ।
जसअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। संसद बैठक सामाजिक दुरी कायम राखेर गर्ने तयारी सचिवालयको छ।