कैलाली – कैलाली लगायतका जिल्लालाई प्रकृतिले आज दिउँसो अन्धकार भएको थियो । मौसममा आएको परिवर्तनसँगै आज अपराह्न आकासमा कालो बादल मडारिएर अन्धकार भएपछि सर्वसाधारण कुनै अनिष्ट निम्तिने हो कि भनेर त्रसित पनि देखिए ।


ADVERTISEMENT


दिउँसै रात पर्ने यस्तो अचम्म यसअघि कहिल्यै देखिएको थिएन, स्थानीय डिल्लीराज भट्टले भने, “कोरोनाको सन्त्रासले सताइरहेका बेला भगवान्ले पनि किन यस्तो गरे होलान् ।” अँध्यारोका बीच पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आएको भीषण हावाहुरीले टायल र कर्कटपाताले छाएका घरका छान उडाई क्षति पुर्याएको छ । झण्डै आधा घण्टासम्म तीव्र गति वर्षासहित आएको आँधीबेहरीका कारण धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाप्रमुख सुरेन्द्र चौधरीले आँधीका कारण पाँचवटै फिडरमा विद्युत् आपूर्ति बन्द गरिएकामा प्रसारण लाइनमा क्षति पुगे नपुगेका बारे जानकारी नआएको बताए । आँधीसँगै वर्षा भइरहेकाले विद्युत् नियमित गराउन समय लाग्ने चौधरीले बताए ।

आँधीले आँप लिचीलगायत फलफूलका हाँगा र दाना चुँडालेर ठूलो क्षति पुर्याएको छ । जिल्लामा आँधीबेहरीले पुर्याएको क्षतिका बारे जानकारी पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । रासस