दुल्लु –  भारतको मुम्बई सहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर अलपत्र परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


‘‘भारत सरकारले हामीलाई कुनै प्रकारको सहयोग नगरेकाले नेपाल सरकारलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्छौँ,’’ पीडितको भनाइ उद्धृत गर्दै सुर्खेतका पत्रकार चिन्तामणि शर्माले जानकारी दिए । पीडितले आफूलाई भाइबरमार्फत गुनासो गरेको शर्माको भनाइ छ ।


ADVERTISEMENT

# # #


दैलेखको दुल्लू र भैरवी क्षेत्रका कामदार भारतमा अलपत्र परेको तथ्याङ्क नामसहित उल्लेख गरिएको छ । ‘‘हामीसँग भएको सबै खानेकुरा सकिएको छ, हाम्रो उद्धार गरी नेपाल फर्काउन पहल गरिदिनुपर्‍यो,’’ पीडितले आफूलाई फोन र सामाजिक सञ्जालमार्फत खबर गरेको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

नगरप्रमुख भण्डारीले केन्द्र सरकारले सीमानाकासम्म ल्याउन सहयोग गरिदिए गाउँ नै खाली गरेर भए पनि आफ्ना पालिकाका जनतालाई राख्ने व्यवस्था मिलाउन सकिने बताए । जनता आपतमा परेको जानकारी पाउनेबित्तिकै उद्धार तथा अन्य सहयोगका लागि आफूले प्रदेश, केन्द्र सरकार र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

तत्कालका लागि केन्द्र सरकारले भारतीय दूतावासमार्फत खाद्यान्नको जोहो मिलाउन पहल गरिदिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए । “समस्यामा परेको जानकारी पाउनासाथ मन्त्रालयलाई चिठ्ठी लेखेको छु, निर्देशन हुनासाथ देशभित्र ल्याएर १४ दिन क्वारेन्टाइनमा राखिने छ,” प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने । नेपाल फिर्ता गर्न सम्भव नभए त्यहीँ खानेबस्ने व्यवस्था गरिदिन अलपत्र व्यक्तिहरुले माग गरेका छन् ।

दुल्लु नगरपालिकाका मदन बम, सन्तोष गिरी, वसन्त रोकाय, पुण्यराज रोकाय, ओम पोखरेल, वीरबहादुर भण्डारी, नेपाल जनसम्पर्क समितिका गोविन्द थापा, सुशील थापा, नरेश थापा, दिल्ली खनाल, गोविन्द नेपाली, अमर नेपाली, धर्म नेपाली, राजु नेपालीलगायत ७५० जना अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा उनीहरुले सूची सार्वजनिक गरेका छन् । -रासस