सप्तरी, फागुन २३ । एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन् ।


ADVERTISEMENT


सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन् । उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए । अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए ।


ADVERTISEMENT

# # #


उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने विहानै देखि प्रहरीले आफ्ना कार्यकर्ताहरुको धरपकड गरेको बताए । उनी अहिले राजविराजमा छन् । सडकमा उत्रिएका मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ ।

एमालेले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज तेस्रो दिन दुई नम्वर प्रदेशमा कार्यक्रम हुँदैछन् । मधेशी मोर्चाको विरोधका कार्यक्रमबीच एमालेले आफ्नो अभियान अगाडि बढाउँदैछ । दुवै पक्षका आ–आफ्ना अडानले तनावको आशंका बढाएको छ । यद्यपी सुरक्षा निकायले सुरक्षाको उच्च बन्दोबस्त गरिएको बताएका छन् ।

राससका अनुसार:

एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ ।
मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।
एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपुर्याउन सम्बद्ध पक्षलाई आग्रह गरेकी थिइन् ।

विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ ।

आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ ।

“एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।”