काठमाडौँ – पाकिस्तान एकदिवसीय क्रिकेटको कप्तानमा बाबर अजाम नियुक्त भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बुधबार बाबरलाई पाकिस्तानले खेल्ने तय भएका ६ वटा एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय र एशिया कपका सबै खल तथा अष्ट्रेलियामा हुने २०२० को टी–२० विश्वकपका लागि कप्तान बनाएको हो ।


ADVERTISEMENT


तत्कालीन कप्तान सरफराज अहम्मदपछि अजहर अलि एकदिवसीय कप्तान बनेका थिए । अजहरले राजीनामा दिएपछि बाबर कप्तानमा चुनिएका हुन् । पाकिस्तानको टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान रहँदै आएका २५ वर्षीय बाबरले पहिलो पटक एकदिवसीय टिमको नेतृत्व गर्ने अवसर पाएका हुन् ।


ADVERTISEMENT

# # #


सन् २०१५ मा जिम्बाब्बेविरुद्ध डेब्यू गरेका दायाँ हाते ब्याट्म्यान बाबरले ७४ एकदिवीय खेलमा ३ हजार ३ सय ५९ रन बनाएका छन् । त्यसक्रममा उनले ११ शतक र १५ अर्धशतक बनाएका छन् । पाकिस्तानी क्रिकेटको भविष्य मानिँदै आएका बाबरले ३८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १३ अर्धशकको मदतमा १ हजार ४ सय ७१ रन बनाएका छन् ।

यस्तै उनले २६ टेस्ट खेलमा ५ शतक र १३ अर्धशतकमा १ हजार ८ सय ५० रन बनाएका छन् । उनीसँग पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) लगायतका टी–२० फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

यस्तै पीसीबीले पककिस्तानको टेस्ट कप्तानमा अजहर अलिलाई चुनेको छ । २०१० मा पाकिस्तानका लागि डेब्यु गरेका ३५ वर्षीय दायाँ हाते ब्याट्सम्यान अजहरले पाकिस्तानका लागि ७८ टेस्ट खेलेका छन् । जसमा उनले १६ शतक र ३१ अर्धशतकको मदतमा ५ हजार ९ सय १९ रन बनाएका छन् ।

उनले ५३ एक दिवसीय खेल पनि खेलेका छन् । जसमा ३ शतक र १२ अर्धशतकसहित १ हजार ८ सय ४५ रन बनाएका छन् ।