काठमाडौँ– नेपाली यू–१९ को ब्याटिङ कन्सल्टेन्टका रुपमा भारतका मोन्टी देशाई सोमबार नेपाल आइपुगेका छन् । मलेसियामा सेप्टेम्बर ८ देखि १७ सम्म आयोजना हुने एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीलाई हेर्न देशाई आएका हुन् ।


ADVERTISEMENT


नेपाली यू–१९ टिमले ब्याटिङ कन्सल्टेन्टको आवश्यक्ता देखाएपछि एसियाली क्रिकेट परिषद् (एसीसी) सँग समन्वय गरेर देशाईलाई ल्याइएको हो । देशाईको खर्च सवै एसीसीले बेहोर्ने छन् ।


ADVERTISEMENT

# # #


नेपाली टोली मलेसिया प्रस्थान गर्नु अगाडिसम्म नेपाली क्याम्पमा रहने छन् । अघिल्लो महिना सिंगापुरमा भएको आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा कमजोर ब्याटिङपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने मौका गुमाएको थियो । नेपालले ६ खेलमा एक खेलमा मात्र १ सयभन्दा माथी रन बनाउन सकेको थियो । अफगानिस्तानसँगको दुई खेलमा नेपालले क्रमशः ४९ र ९९ रनमात्र बनाउन सकेको थियो । ४९ रन प्रतियोगितात्मक खेलमा नेपाली यू–१९ को अहिलेसम्मको न्युन स्कोर हो ।

सिंगापुरमा नेपालबाट दीपेन्द्रसिंह ऐरीले मात्र एक खेलमा अर्धशतक बनाउन सकेका थिए र उनले नै नेपालबाट ६ खेलमा सर्वाधिक १ सय ३१ रन बनाएका थिए । नेपालबाट दोस्रो सर्वाधिक रन बनाउने सुचिमा रहेका रोहित पौडेलको खातामा ६७ रन थियो । अघिल्लो साता देखि नेपाली यू–१९ टोली मलेसियामा हुने प्रतियोगिताका लागि तयारीको क्रममा रहेको छ ।

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयलको प्रशिक्षक रहिसकेका देशाई यसअघि पनि ब्याटिङ कन्सल्टेन्टको रुपमा नेपाली टोलीमा आवद्ध थिए । सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई पछिल्लो पटक नेपाली टोलीसँग रहेका थिए । देशाई विगतमा क्यानाडाको पनि ब्याटिङ कन्सल्टेन्ट थिए ।