नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालको महाअधिवेशन असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुनेगरी तोकिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा यसको तयारी कसरी अगाडी बढिरहेको छ ? यसको नेतृत्वका लागि विभिन्न व्यक्तिहरुले दाबेदारी गरिरहेका छन् । युवा संघ नेपालको हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका चन्द्र लामा अधिवेशनमा आफूलाई नेतृत्वको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन् । नेतृत्वका लागि दाबी गरीरहेका उनका कार्य योजना के हुन् वा उनको अध्यक्ष पदमा दाबेदारी केका लागि हो ? बेरोजगारीका कारण विदेश पलायन भइरहेका युवालाई नेपालमा नै राख्नका लागि युवासंघको अबको नेतृत्वको भूमिका के हुन्छ ? लगायतका विषयमा उनै युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामासंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


युवा संघ नेपालको अधिवेशन तोकिएको छ । यो अधिवेशनमा तपाईको दाबी के मा रहन्छ ?


ADVERTISEMENT

# # #


स्वभाविक रुपमा म अध्यक्षको पदका लागि दाबी गरिरहेको छु । किनभने मैले अहिले उपाध्यक्षको रुपमा काम गरिहेको छु । अबको मेरो दाबी अध्यक्षको नै हो ।

अध्यक्षका लागि तपाईको दाबी किन ? निर्वाचन जितेपछि यस संगठनको विकास, विस्तारका लागि वा चलायमान बनाउनका लागि तपाईका कार्य योजना के हुन् ?

नेकपा एमालेको भतृसंगठन र खम्बाका रुपमा चिनिने युवा संघ नेपाल हो । नीति निर्माण गरेर कार्यान्वयन गर्ने ठाउँ पनि यो हो । एमालेले अडान गरेको राजनीतिक एजेण्डा, देशका जनतालाई सुखी र समृद्ध बनाउने अध्यक्ष केपी ओलीको जुन किसिमको योजना छ । त्यो हामीले कार्यान्वयन गर्नुछ । देशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा आम युवाहरु रोजगारीको खोजीमा विदेश भौतारिरहेका छन् । तिनलाई स्वदेशमै बसेर रोजगारी सिर्जना गर्ने वातारणको निर्माण गर्नका लागि युवा संघको भूमिका र कार्य योजना रहनेछ । त्यस्तै रेमिटेन्सले धानेको देशको अर्थतन्त्रलाई देशमा कृर्षिको अधुनिकीकरण गरेर, जलस्रोतको उपोग गरेर, पर्यटनको विकास तथा प्रवद्धन गरेर आर्थिक अवस्थालाई मजबुत पार्नका लागि युवा संघ नेपाल लागि पर्छ । यिनै विषयको कार्यान्वयन गर्ने उद्देश्यका साथ यो अधिवेशनमा हामी लागेका छौँ ।

१३ वर्षको उमेरमा काभ्रे जिल्लाको दाप्चेमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट मैले राजनीतिक यात्रा सुरु गरेको हुँ । पछि उत्कृष्ट जिल्ला कमिटी अध्क्षको रुपमा पुरस्कृत भएको थिएँ । केन्द्रिय सदस्य, सचिव हुँदै अहिले केन्द्रिय उपाध्यक्ष भएको छु । विगतमा मैले युथ फोर्सको जिम्मेवारी पनि पूरा गरिसकेको छु । पार्टी वा संगठनले मलाई दिएको जिम्मेवारी मैले सहजताका साथ इमान्दारपूर्वक निर्वाह गरेको छु । त्यसको कार्यान्वयन गरेको छु । युवा संघको नाममा मेरो १८ वर्ष व्यतीत भएको छ । त्यसकारण मैले युवा संघको नेतृत्व सहज रुपमा सम्हाल्न सक्छु भन्ने विश्वास छ । आँड र क्षमता छ । यसका लागि म सक्षम छु भन्न चाहन्छु ।

युवा संघमा अबको नेतृत्व कस्तो हुन आवश्क छ ?

यो राजनीतिमा सुझबुझ भएको, नीति, विचार सिद्धान्तमा अडिग रहेको, हिजोको अवस्थाबाट राजनीतिक रुपान्तरण गर्दै आम नेपाली युवाहरुको माझमा राजनीतिक चेतना, राजनीतिक समस्याको समाधान गन सक्ने सक्षम कार्यकर्ता जन्माउने थलोको रुपमा हामी यो महाअधिवेशनलाई प्रयोग गर्छौँ ।

अधिवेशनको तयारी कसरी अगाडी बढाइराख्नु भएको छ ?

यो ७५ वटै जिल्लाका स्थानीय निकायबाट, क्षेत्रीय तथा प्रान्तीय कमिटीबाट र केन्द्रको लेखा अनुशासन आयोगदेखि विभागका सदस्य सचिव र केन्द्रीय कमिटीका सदस्यहरुले यो महाधिवेशनमा प्रतिनिधित्व गर्ने हुनाले उहाँहरुसंग प्रत्यक्ष रुपमा भेटघाट, साक्षत्कार भएको छ । यसलाई प्रभावकारी रुपमा अगाडी बढाउका लागि हामी अझ योजनावद्ध रुपमा गइरहेका छौँ । समग्रमा तयारी व्यापक रुपमा हुँदैछ भन्नुपर्छ ।

देशमा बेरोजगारी व्याप्त भएकाले लाखौँ युवाहरु विदेश पलायन भएका छन् । नीति निर्माणका क्षेत्रमा युवाहरु नभएकाले युवाका माग, आवश्यकताहरुको सम्बोधन हुन सकिरहेको छैन । यी सबै समस्याको समाधानका लागि के गरिनु पर्छ वा तपाईको युवा संघ नेपालको यसमा के-कस्तो भूमिका रहन्छ ?

एउटा भनेको नेतृत्वमा रहेको जुनसुकै पार्टी होस् त्यसका नेतृत्वहरुले युवालाई ध्यानमा राखेर काम गर्नु पर्छ । पदको गरिमालाई बुझ्ने तथा देशका हितमा काम गर्नसक्नेलाई त्यहाँ लिइयो भने काम गर्न सहज हुन्छ । अर्को कुरा भनेको देश भित्र युवाहरुलाई उद्योग, बाटोघाटो, सिँचाई लगायतका पूर्वाधारको लगायतका रोजगारमूलक क्षेत्रमा व्यवस्थित गर्न सक्नु पर्छ । यो समस्याको प्रमुख कारण के हो भने कुन ठाउँ केका लागि उपुक्त छ भनेर हामी अध्ययन गर्दैनौँ । देशको विकासको कुरा त गर्छौँ तर त्यसका असरहरुप्रति हामी बढि नै संवेदनशील छौँ । विधि र नीतिमा युवा शक्तिलाई लगाउन सकेमा देशको विकास गर्न सकिन्छ ।

एउटा महत्वपूर्ण कुरा के हो भने विदेशबाट आएको रेमिटेन्सलाई राजगारमूलक क्षेत्रमा सही सदुपयोग गर्नु पर्छ र यसका लागि सरकारी स्तरबाट आवश्यक नीति निर्माण हुन जरुरी छ । किनभने विदेशबाट आएको पैसा साहुको ऋण तिर्दै, दशैँमा मासु, कपडा किनेर सकिन्छ । विदेश जाँदा जस्तो अवस्था

थियो फर्किँदा पनि त्यस्तै अवस्था सिर्जना हुन्छ । बचत नभएपछि युवा फेरि विदेश जानुपर्ने बाध्यता आइपर्छ । त्यसकारण रेमिटेन्सको सही सदुपयोग गरेर युवा पलायनको समस्या समाधान हुन सक्छ । यसका लागि युवा संघले पनि काम अगाडी बढाइरहेको छ । यस्तो खालको नीति निर्माणका लागि हामी सम्बन्धित निकायलाई घच्घच्याइ रहन्छौँ ।

 

अहिलेको राष्ट्रिय राजनीतिमा तथा नीति निर्माणका क्षेत्रमा युवाहरुको निर्णयक भूमिका कस्तो छ ?

अहिलेसम्म भएको छैन । म सबै पार्टीको कुरा गर्दैछु । चार/पाँच पटक प्रधानमन्त्री उहाँहरु नै हुनु पर्ने, पार्टीको अध्यक्ष पनि उहाँहरुनै हुने हुनाले यस

क्षेत्रमा युवालाई अवसर प्रदान गरिएको देखिदैन । सस्तो मुल्यमा युवाले विदेशमा श्रम मुल्य बेचेजस्तै यस क्षेत्रमा सस्तो मुल्यमा राजनीतिक श्रम मुल्य बेच्न नेपाली युवाहरु बाध्य छन् । यो विषयमा हामी अत्यन्तै दुःखी छौँ ।

अब युवा संघको अधिवेशनतिरै फर्किऔँ । तपाई त्यो स्थानमा पुगेमा के गर्नु हुन्छ ?

राजनीतिक संस्कारलाई एकदमै व्यवस्थित तरिकाले अगाडी लैजानु पर्छ । देशको बाघडोरयुवा नेतृत्वमा ल्याउनका लागि पहल गर्नु पर्ने कुरा छँदैछ । युवाको क्षमता अनुसारको ठाउँमा पुर्याउनका लागि राजनीति मुल कुरा भएकाले यसको रुपान्तरण गर्न जरुरी छ । यसका लागि हामी लागिरहन्छौँ ।

अन्त्यमा, राजनीतिक दलहरु र विशेषगरी युवा संघ नेपालको अधिवेशनका प्रतिनिधिहरुलाई के भन्न चाहनु हुन्छ ?

युवा संघको इतिहास, विरासत कायम हुने गरी हामी त्यो कार्यान्वयनमा लाग्छौँ । देशभरिका युवा प्रतिनिधि साथीहरुलाई यो महाअधिवेशनलाई एउटा उत्सवको रुपमा लिँदै नीति निर्माणको निम्ति, युवाका माग, आवश्यकताको सम्बोधन गराउनका निम्ति सबै संगसंगै रहनका लागि म आग्रह गर्दछु । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनका लागि म आह्वान गर्दछु ।