सञ्चिता घिमिरे, सुभानु आचार्य, काठमाडौँ – बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड–१९ को परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका वडा नं ९ मा एउटा परिवार पाँच दिन पहिले गुल्मीबाट आएका थिए । बैंकमा कार्यरत ती व्यक्ति काठमाडौँ आउँदा उनको परिवार पनि साथमै आएका थिए । टोलवासीले वडामा खबर गरेपछि अहिले वडा कार्यालयले त्यो परिवारलाई दुई साता घरभित्रै बस्न भनिएको वडाध्यक्ष राजु महर्जनले जानकारी दिए। उनले भने, “उनीहरुलाई अत्यावश्यक सामग्री टोलकै मान्छेले पुर्याउने भनिएको छ ।”


ADVERTISEMENT

# # #


‘लकडाउन’ को शुरुको समयमा उपत्यका बाहिरका व्यक्ति कतिपय सजिलै त कतिपय कष्टकररुपमा घर फर्किएका थिए । त्यतिबेला जिल्ला फर्किएकाहरु सरकारले गत साता लकडाउन खुकुलो गर्ने निर्णयसँगै विभिन्न साधनबाट उपत्यका आएका छन् । उपत्यकामा मङ्गलबार र बुधबार गरी चारजनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले उपत्यकाका नगरपालिकाले सावधानी अपनाएका छन् । सङ्क्रमण पुष्टि भएका चारैजना सङ्क्रमित जिल्लाबाट आएका थिए । लकडाउन थप कडाइ गरिएको छ । एउटा जिल्लाबाट अर्को जिल्लामात्रै होइन एउटै जिल्लामा पनि एउटा स्थानबाट अर्को स्थानमा जान दिइएको पास गृह मन्त्रालयले रद्ध गरिसकेको छ ।

अहिले उपत्यकाका कतिपय नगरपालिकाले उपत्यका बाहिर गएकालाई फर्कन पूर्णरुपले रोक लगाएका छन् भने कतिपयले कोभिड नभएको पुष्टि भएपछि प्रवेश गर्न दिएका छन् । कतिपय स्थानमा घरबेटीले आउन नदिएपछि व्यक्ति जिल्ला नै फर्किएको पाइन्छ । कतिपय नगरपालिकाले स्वयंसेवक परिचालन गरेर सङ्क्रमित जिल्लाबाट आएर लुकेर बसेकालाई खोजी शुरु गरेको छ । स्थानीयवासीले ठाउँ ठाउँमा बाँस तेस्र्याएर प्रवेशमा रोक लगाइरहेका छन् ।

स्थानीयवासीले ती घरमा सङ्क्रमित जिल्लाबाट आएका व्यक्तिका कारण आफू असुरक्षित भएको भनेपछि तालाबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले १० दिन पहिले बोर्ड बैठकबाट उपत्यका बाहिरका सङ्क्रमित जिल्लामा गएका व्यक्तिलाई ‘जो जहाँ छ त्यहीँ बस्न’ भन्ने निर्णय गरेको थियो । कुनै पनि कारण देखाएर आउनेलाई पनि वडाध्यक्ष वा वडा कार्यालयसँग समन्वय गरेरमात्रै प्रवेश गर्न भनिएको उनले बताए । गत साता विभिन्न बहानामा व्यक्तिहरु सङ्क्रमित जिल्लाबाट प्रवेश गरेका थिए । उनले भने, “कतिपय एम्बुलेन्सबाट त कति सरकारी गाडीको दुरुप्रयोग गरेर आइरहेकाले हामीले प्रहरीको सहयोगमा जाँच बढाएका छौँ ।”

चन्द्रागिरि नगरपालिमा सङ्क्रमित जिल्लाबाट आएकालाई कोभिड–१९ पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले यसलाई रोक्न शुक्रबारदेखि स्वयंसेवक परिचालन गरेको छ । यी स्वमंसेवकले विभिन्न स्थानमा पुगेर उपत्यका बाहिरबाट आएका व्यक्तिको पहिचान गर्ने र आउन चाहेकालाई रोक्ने काम गर्ने नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । नगरपालिकाले सङ्क्रमित जिल्लाबाट आउने व्यक्ति आफ्नो टोलमा भए खबर गर्न भन्दै माइकिङ गरिरहेको छ ।

नगरपालिका प्रवेशका लागि धेरै नाका भएकाले रोक्न सम्भव नभए पनि धेरै व्यक्ति आउन सक्ने सम्भावित स्थानमा जाँच बढाइएको उनले बताए। नगरपालिकाले सम्बन्धित घरधनीलाई आफ्नो घरमा बहालमा बस्ने व्यक्ति सङ्क्रमित जिल्लाबाट आएको हो भन्ने जानकारी गराउन भनिरहेको छ । उनले भने, “घरधनी माथिल्लो तलामा बस्ने हुँदा तल को आयो र को गयो भन्ने थाहा नहुने रहेछ ।”

बिहीबार गृह मन्त्रालयमा उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसँग कोभिड–१९ को रोकथामका विषयमा छलफल भएको थियो । सहभागी सबैले अहिलेको समयमा जो जहाँ छ त्यही बस्नुपर्ने र उपत्यका छिर्ने नाकामा प्रशासनले कडाइ गर्नुपर्ने बताएका थिए ।

अहिले धेरै स्थानबाट हाम्रो टोलमा उपत्यका बाहिरका जिल्लाका मान्छे छिरे भन्दै फोन आउने गरेको ललितपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं ९ का अध्यक्ष राजु महर्जनले बताए । गत साता धेरै व्यक्ति उपत्यका बाहिरबाट आएको उनले बताए । तीमध्ये कतिपयलाई फर्काइएको छ भने कतिपय विभिन्न बहाना गरेर यहीँ बसेका छन् । एउटा परिवारमात्रै एउटा फ्लाटमा बस्ने हुँदा समस्या नभए पनि धेरै परिवार हुँदा समस्या पर्ने उनले बताए । गत सातादेखि नै घरधनीले उपत्यका बाहिर गएका व्यक्तिलाई तत्काल नआउन भनी सम्पर्क गरेको थियो । उनले भने, “तर उनीहरु बहाना बनाएर आउन रोकिएन ।”

भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि लकडाउनपछि उपत्यका बाहिर गएका नगरवासीलाई कोभिड–१९ को परीक्षण गरेर रिपोर्ट नेगेटिभ हुँदामात्रै आउन भनेको छ । कोही व्यक्ति नगर प्रवेश गरिहालेमा उसलाई दधिकोटस्थित नगर अस्पताल, मध्यपुर अस्पताल वा भक्तपुर अस्पतालमा परीक्षण गर्न पठाइएको नगर प्रमुख वासुदेव थापाले बताए । उनले भने, “भक्तपुर जिल्लामा नै दुईजनामा कोरोना देखिए पनि हामी थप सजग भएका छौँ ।” रासस