काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढङ्गले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सीमानाकामा रहेका नेपालीलाई जोखिम रहित ढङ्गले प्रवेश गराउन सरकारले तत्काल पहल नगर्ने हो भने एकातर्फ उनीहरुलाई सिमानामा खान बस्न कठिनाइ हुने र अर्कोतर्फ लुकीछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोना सङ्क्रमणको जोखिम झनै बढ्ने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


सीमानाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षितरूपमा घर पुर्याउने प्रबन्ध गर्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ । लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गरेका छन् ।