चन्द्रकला भण्डारी, भद्रपुर – भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताए। भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए ।


ADVERTISEMENT


रेल स्टेशनमा झरेका नेपालीलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको उनको आरोप छ । “साँझमा भारत र नेपालको सीमा क्षेत्रमा भोकैतिर्खै आएका उनीहरुलाई पानी र चाउचाउको व्यवस्था त्यही गर्‍यौँ”, अध्यक्ष साहले भने, “अहिले बिहान खानाको व्यवस्था गरेका छौँ । खाना खाएपछि उनीहरुलाई उद्धार गरेर जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको होल्डिङ सेन्टरमा पठाउँछौँ ।”


ADVERTISEMENT

# # #


पालिकाको वडा नं १ मा रहेको लसुना सीमा क्षेत्रमा रहेका ३५ नेपालीमध्ये २५ झापाका विभिन्न पालिका र १० जिल्ला बाहिरको रहेको उनले बताए । उनका अनुसार दुई दिनअघि मात्र ३२ जना यही नाका भएर नेपाल प्रवेश गरेका छन् । उनीहरुमध्ये केहीलाई सम्बन्धित पालिकाले लगिसकेको र बाँकी रहेकालाई क्वारेन्टाइनमा सुरक्षित राखिएको उनले बताए।

त्यसैगरी आज बिहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ नेपाली आइपुगेका छन् । उनीहरुमध्ये १० पाठामारी र ५४ केचनाको सीमा क्षेत्रमा छन् । सीमा रहेका सुरक्षाकर्मीले उनीहरुलाई त्यही रोकेर राखेका छन् । “सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याउँछौँ, भारततिर फर्काउँदैनौँ”, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, “उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको जिल्लामा व्यवस्था गरिएको छ ।”

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले पूर्वीनाका काँकडभिट्टामा प्रवेश गर्ने नेपालीका लागि मेचीनगरमा, झापा गाउँपालिकाको सीमा क्षेत्रबाट आउनेलाई कनकाइ नगरपालिकास्थित कनकाइ क्याम्पस, भद्रपुर र कचनकवलका सीमा क्षेत्रबाट आउनेका लागि राख्न मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर तयारी गरिएको बताए ।

उनले सीमा क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीलाई जिल्लाभित्रका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने र जिल्ला बाहिरका भए स्वास्थ्य परीक्षणपछि सम्बन्धित जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा आएर रोकिएका नेपालीका सङ्ख्या एक हजार बढी छन् ।

दुई दिनअघि पानीट्याङ्की, नक्लबाडी क्षेत्रमा रहेका एक हजार नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिएको थियो । तर, सङ्घीय सरकार र भारत सरकार दुवैको आदेश नआएको हुँदा उनीहरुलाई ल्याउन नसकिएको उनको भनाइ छ ।

सङ्क्रमितसँग आउने सबैको स्वाब परीक्षण

झापाको कचनकवल गाउँपालिका–६ मा कोराना पुष्टि भएका २३ वर्षीय युवा छ महिनाअघि मात्र रोजगारीका सिलसिलमा भारतको मुम्बइ गएका थिए । मुम्बइमा कोरोना सङ्क्रमण फैलिन थालेपछि आफू सुरक्षित बन्नका लागि उनी शनिबार मात्र भारतीय रेल चढेर फर्किएका हुन् । गलगलिया रेल स्टेशनमा उत्रिएर पाठामारी हुँदै उनी नेपाल प्रवेश गरेका हुन् ।

उनीसँगै नेपाल प्रवेश गर्ने अरु ३२ जना थिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले उनीहरुलाई सीमामा रोकेर केहीबेर राखेका थिए । सीमामा रोकिएका उनीहरुलाई लिन स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईँले पुगेका थिए । नाकाबाट कब्जा गरेर उनीहरुलाई ट्र्याक्टरमा सामाजिक दूरी कायम गरेर पालिकाकाको वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । उनीहरु सबैलाई एकै स्थानबाट नभएर पाठामारी, केचना र घेराबारीबाट ल्याइएको थियो ।

शनिबार १२ बजे क्वारेन्टाइनमा आइपुगेका उनीहरु सबैको सोही दिन स्बाब सङ्कलन गरी विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको थियो । जसमध्ये १० जनाको परीक्षण रिपोर्ट आइसकेको र त्यसमा ती युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । “२३ जनाको रिर्पोट आउन बाँकी छ”, उनी मात्रै सङ्क्रमित हुन् वा अरु पनि रिर्पोट आएपछि मात्र भन्न सकिन्छ”, फोकल पर्सन चौलागाईं भन्छन् ।

उनीसहित आउने सबैलाई परिवार वा अन्य कोहीसँग समेत सम्पर्क गर्न नदिइ सिधै क्वारेन्टाइनमा राखिएको हुँदा कचनकवल गाउँपालिका कुनै पनि वडामा सिल गर्नु नपरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । झापामा यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा कोराना पुष्टि भएका दुई व्यक्ति निको भएर घर फर्किसकेका छन् । रासस