काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सालाई भारतले सोझै बहिस्कार गरेको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसलाई नमान्ने बताएको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, “एकपक्षीय रुपमा गरेको कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ” ।
नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले स्वीकार्य नहुने बताएको हो । सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार नै रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं ।’
सम्बादका माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने पूर्व सहमतिको उल्लंघन गर्दै भारतीय भूमी दावी गर्नेगरी आएको नक्सा स्वीकार्य नहुने उनले बताएका छन् ।
नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने श्रीवास्तवले विश्वास समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT