काठमाडौँ– अर्को वर्ष हुने तय भएको आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा हुने निर्णय भएको छ ।


ADVERTISEMENT


खेलकुद मन्त्री राजेन्द्रकुमार केसी र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको उपस्थितिमा सोमबार नेपालगञ्जमा बसेको आठौं राष्ट्रिय खेलकुद तयारी समितिको बैठकले खेलकुदको मस्कट हात्तीको छावा बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


तयारी समितिको बैठकले मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदको तयारी र पूर्वाधार निर्माणका लागि ७० करोड र प्रतियोगिता आयोजनाका लागि ३५ करोड खर्च हुने अनुमान गरेको छ ।

राखेपले अन्तर्गतको तयारी समितिले पूर्वाधार अध्ययन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दिएको प्रतिवेदनअनुसार बैठकले लागत अनुमान गरेको हो । साथै बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ को मंसिर महिनामै सम्पन्न गर्न पुनः प्रतिबद्धता पनि जाहेर गरेको छ ।

मन्त्री केसी र सदस्यसचिव विष्टले आजै बाँके र बर्दिया जिल्लामा रहेका खेलकुद पूर्वाधारहरुको निरीक्षणसमेत गरेका छन् । मन्त्री केसीले पूर्वाधार निर्माणका लागि बजेटको अभाव नहुने प्रतिबद्धता पनि जनाए ।

मन्त्रीले नयाँ निर्माण गर्नुपर्ने र भएका संरचनाको स्तरोन्नति गर्नुपर्ने निर्क्यौल गरी काम थाल्न निर्देशन दिएका छन् ।