काठमाडौँ — भारतका विभिन्न सहरबाट फर्किएकाहरू स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिइरहेका छन् । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।


ADVERTISEMENT


जमुनाह, गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिनेमध्ये करिब २ हजार जना कर्णालीका विभिन्न जिल्लाका छन् । उनीहरू सुर्खेतको बबई नाका हुँदै कर्णाली प्रदेश पुगिसकेका छन् । उनीहरूको बबईमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिँदै छ ।


ADVERTISEMENT

# # #


उनीहरू अधिकांश प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका हुन् । यसरी आएकालाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जनाएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका छन् । सुदूरपश्चिमसहित विभिन्न जिल्लाका उनीहरू एकपछि अर्को गर्दै १५ वटा गाडीमा आएपछि नाकामा खटिएका सुरक्षाकर्मी र जिल्ला प्रशासनका प्रतिनिधिलाई व्यवस्थापन गर्नै हम्मे भएको थियो ।