बेइजिङ — चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको छ । शुक्रबार बिहानदेखि सुरु भएको चिनियाँ संसद्को वार्षिक बैठकमा प्रधानमन्त्री ली खछ्याङले आगामी वर्षका लागि आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने बताएका छन् ।

प्रधानमन्त्री खछ्याङले भने, ‘हाम्रो देश केही समस्यासँग जुधिरहेको छ । यस्तो अनिश्चिततापूर्ण समयमा प्रगतिको अनुमान लगाउन कठिन हुन्छ । यो अनिश्चितता कोरोना भाइरसका कारण पैदा भएको हो । यसले विश्वकै अर्थव्यवस्था र व्यवसायमा ठूलो प्रभाव पारेको छ ।’


ADVERTISEMENT


त्यस्तै चीनको बजेट घाटा पनि गत वर्षको तुलनामा बढेको बताइएको छ । चीनले सन् १९९० देखि आर्थिक वृद्धिदरको लक्ष्य प्रकाशित गर्न थालेको थियो । त्यसयता लगातार चीनले आफ्नो आर्थिक वृद्धिदर घोषणा गर्दै आएको थियो । यस वर्ष पहिलो पटक चीनले आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको हो ।


ADVERTISEMENT

# # #


गत वर्ष चीनले ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको थियो । चीनमा गत वर्ष कुल ग्राहस्थ उत्पादन(जीडीपी) ३० वर्षयताकै कम ६.१ प्रतिशतले वृद्धि भएको थियो ।