काठमाडौँ – विगत एक महिनादेखि कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेदिखएको सुदुरपश्चिम प्रदेशमा पुनः संक्रमितहरु फेला परेका छन् । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीका ३ जना तथा डडेल्धुरा र वैतडीका १–१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिनेमा कैलालीका १९, २३ र २६ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरु हाल जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै डडेल्धुरा पर्शुराम नगरपालिका–१० का २८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । उनको डडेल्धुरा अस्पतालबाट नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएको थियो । यस्तै वैतडीको शिभनाथ–१ का २२ वर्षीय पुरुष पनि संक्रमित बनेका छन् । उनको पनि वैतडी अस्पतालबाट नमूना संकलन गरेर सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यससँगै सुदूरपश्चिममा पुनः कोरोना संक्रमण देखिएको छ । डडेल्धुरा र वैतडी गरी थप दुई जिल्लामा पहिलो पटक कोरोना देखिएसँगै सुदूरपश्चिमका ९ वटा जिल्लामध्ये ४ वटा जिल्लामा कोराना पुगेको छ । यसअघि कैलाली र कञ्चनपुरमा गरी ५ जना कोरोना संक्रमित फेला परेका थिए । उनीहरु सबै एक् महिना अघि नै निको भएर डिस्चार्ज भएका थिए । त्यसयता सुदूरपश्चिम प्रदेशमा कोरोना देखिएको थिएन ।

यससँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । जसमध्ये ५ जना निको भइसकेका छन् ।